काठमाडौँ । नेपाल धितोपत्र बोर्डले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार कानून अनुसार रोक्का गरिएको बताएको छ ।
बैंकको सेयर रोक्का भएको विषयमा सेयर लगानीकर्ता दिपेन भण्डारी, सन्तोष भण्डारी, यादव थापा र लक्ष्मण महताराले बोर्डलाई पठाएको पत्रको जवाफ फर्काउँदै बोर्डले बैंकको सेयर धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सेयर कारोबार स्थगन गरेको जनाएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई निलम्बन गरी व्यवस्थापन नियन्त्रणमा लिएकोले लगानीकर्ताको हितलाई ध्यानमा राख्दै कारोबार रोक्का गरेको बोर्डले जनाएको छ ।
समस्याग्रस्त घोषणा भएकै आधारमा सेयर कारोबार नै रोक्का गर्नू गलत भएको भन्दै सेयर लगानीकर्ताले पुष १६ गते बोर्डसँग कर्णालीको कारोबार स्थगन गर्नको लागि कुन कानूनको आधारमा नेप्सेलाई पत्राचार गरेको हो ? नेपाल धितोपत्र बोर्डलाई कुन कानूनले दिएको अधिकार प्रयोग गरिएको हो ? भन्दै जवाफ मागेका थिए ।