काठमाडौँ । मुक्तिनाथ विकास बैंकका शाखा प्रबन्धक (ब्रान्च मेनेजर) पक्राउ परेका छन् । बैंकको बाँके शाखाका ब्रान्च मेनेजर अशोक कोइराला पक्राउ परेका हुन् ।
बैंकमा नक्कली कागजात पेश गरेर १ करोड २० लाख रुपैयाँ कर्जा लिन सघाएको आरोपमा कोइरालालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । ब्रान्च मेनेजर कोइराला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) आयुश प्रसाद जोशीले पुष्टि गरेका छन् ।
डिएसपी जोशीका अनुसार ब्रान्च मेनेजर जोशीसँगै अन्य थप चार जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकको कर्जा शाखामा कार्यरत राजन थापा र सञ्जय यादव रहेका छन् । त्यस्तै, किर्ते कागज बनाउन सघाएको आरोपमा प्रहरीले मालपोत कार्यालय बाँकेका लेखनदास श्रीधरा वलीलाई समेत पक्राउ गरेको छ ।
पक्राउ परेका चारजनाविरुद्ध ठगी तथा सरकारी किर्ते मुद्दामा अनुसन्धान भइरहेको डिएसपी जोशीले बताएका छन् । ‘पक्राउ परेका चारजनाविरुद्ध ठगी तथा सरकारी किर्ते मुद्दामा अनुसन्धान गरिरहेका छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘उनीहरुलाई प्रहरीमा परेको जाहेरीका आधारमा पक्राउ गरिएको हो । थप अनुसन्धान गर्दैछौँ ।’