काठमाडौँ । नबिल स्टक डिलर अर्थात ब्रोकर नम्बर ७७ का प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिमान श्रेष्ठले नबिलमा ग्राहकका गोप्य कारोबार विवरण सुरक्षित नरहेको स्वीकारेका छन् । अर्थ सरोकारसँग गरिएको कुराकानीका क्रममा सिइओ श्रेष्ठले यस्तो स्वीकारेका हुन् ।
नबिल स्टक डिलरबाट ग्राहकका गोप्य विवरण असम्बन्धित व्यक्तिकहाँ पुगेका छ नि ? भन्ने प्रश्नमा उनले त्यसो भएको स्वीकार्दै गल्तीहरु सुधार्दै जाने बताएका छन् ।
‘हामीकहाँबाट ग्राहकका गोप्य रहनुपर्ने कारोबार विवरण असम्बन्धित व्यक्तिकहाँ पुगेका छन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै सिइओ श्रेष्ठले भने, ‘जे भयो गलत भयो । अब बिस्तारै सेवा सुधार्दै जान्छौँ ।’
नबिल स्टक डिलरबाट गोप्य रहनुपर्ने ग्राहकको कारोबार विवरण असम्बन्धित व्यक्तिकहाँ पुगेको तथ्यसहितको समाचार अर्थ सरोकारले यसअघि नै सप्रमाण सम्प्रेषण गरिसकेको छ । यतिसम्मकी कम्पनीका सिनियर कर्मचारीकै श्रीमतीको कारोबार विवरणसमेत केही समयअघि ‘लिक’ भएको थियो । जुन कारोबार कानुनतःः गलत थियो ।
त्यसबाहेक पनि नबिल स्टक डिलरबाट ठूलो परिमाणमा कारोबार गर्ने लगानीकर्ताको कारोबार विवरण पनि सामाजिक सञ्जालमा छताछुल्ल थिए । यसरी गोप्य रहनुपर्ने ग्राहकको विवरण ‘लिक’ हुन थालेपछि नियामक नेपाल धितोपत्र बोर्डमा उजुरीसमेत परेको छ । तर, सिइओ श्रेष्ठले आफूहरुलाई सो बारेमा जानकारी नभएको र कुनै पनि पत्र प्राप्त नभएको बताएका छन् ।