काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०० कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७ सय ८० कित्ता सेयर खरिद बिक्री ११ अर्ब ३९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ९६ करोड ४७ लाख ३४ हजार ६ सय ८ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, बिहीबारको बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आजको बजारमा गार्डियन माइक्रो लाइफसहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।