×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल स्टक डिलरमा सेयर कारोबार गर्नेहरु होसियार ! सुरक्षित छैनन् ग्राहकका विवरण, हाकिमकै उधारो ! (भिडियो ब्रिफिङ)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नबिल स्टक डिलरमा सेयर कारोबार गर्नेहरु होसियार ! सुरक्षित छैनन् ग्राहकका विवरण, हाकिमकै उधारो ! (भिडियो ब्रिफिङ)

Artha Sarokar

२८ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । के तपाईं नबिल स्टक डिलर अर्थात ब्रोकर नम्बर ७७ मार्फत सेयर कारोबार गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने सचेत हुनुहोस्, तपाईंले कुन दिन कुन मूल्यमा कुन कम्पनीको सेयर किन्नुभयो, बेच्नुभयो, यसको सम्पूर्ण विवरण कम्पनीकै कर्मचारीमार्फत असम्बन्धित व्यक्‍तिकहाँ पुग्छ । यो आरोप होइन, हामीले पाएको प्रमाण हो । तपाईंको गोप्य हुनुपर्ने विवरण कम्पनीबाटै चुहावट हुन्छ । यतिसम्मकि कम्पनीमा कम्पनीकै हाकिमकी श्रीमतीले गरेको कारोबारसमेत गोप्य छैन, छताछुल्ल छ । अव तपाईंको प्रश्न होला, हाकिमकी कर्मचारीले सोही ब्रोकरमा कारोबार गर्न मिल्छ र ? खासमा नियम अनुसार नमिल्नुपर्ने हो । तर ब्रोकर नम्बर ७७ मा मिल्दो रहेछ । अझ नबिल बैंकका हाकिम आदर्श बजगाईंले पनि छोरीका नाममा यही ब्रोकरमा करोडौँ उधारो राखेर कारोबार गर्दा रहेछन् । हामीलाई सेयर बेचेको भोलिपल्टैदेखि ताकेता गर्ने कम्पनीले आफ्ना हाकिमलाई भने करोडौँ रुपैयाँको उधारो दिने रहेछ । अनि यस्तो हुँदा कारवाही हुँदैन ? हामीलाई पनि लागेको थियो, कारवाही हुन्छ, हुनुपर्छ । तर स प्रमाण धितोपत्र बोर्डमा उजुरी दिँदा पनि कारवाही भएन । कारण उधारो कारोबार गर्ने तिनै बजगाईं र धितोपत्र बोर्डका आशा गरिएका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ त कुनै बेलाका क्लासमेट रहेछन् । 

कुनै बेला पुराना ब्रोकरले साह्रै दुख दिए, नयाँ ब्रोकर आउनुपर्छ, अझ बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिनुपर्छ भन्ने माग खुब उठेको थियो । अझ नबिल जस्तो अब्बल ब्राण्डले लगानी गरेको कर्पोरेट ब्रोकरमा त उधुमको सेवा होला भन्ने धेरैलाई लागेको थियो । तर त्यस्तो नहुँदो रहेछ । प्रचलित कानुनविपरीत त्यहाँका कर्मचारीले त आफ्नै श्रीमतीका नाममा कारोबार पनि गर्न पाउने रहेछन्, डिजीएम सापले उधारो कारोबार गर्न पनि पाउँदा रहेछन् । दुख पाउने, झमेला भोग्नुपर्ने त आम सेयर लगानीकर्ताले मात्र रहेछ ।

सेयर बजार आफैँमा संवदेनशील क्षेत्र हो । अझ सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताको विवरण झनै संवेदनशील हुन्छन् । कारण किन्नेले के किन्यो र बेच्नेले के बेच्यो भन्ने विवरण स्वयम् लगानीकर्ताको गोपनियतासँग जोडिएको विषय हो ।  तर, संवेदनशील र गोप्य राख्नुपर्ने लगानीकर्ताका विवरण जताततै छताछुल्ल गरेर नबिल स्टक डिलरले मनपरी र लापवरवाहीको नाँगो नाच देखाइरहेको छ । यतिसम्म कि कम्पनीबाट लगानीकर्ताको कारोबार विवरणको स्टेटमेन्ट नै असम्बन्धित व्यक्‍तिकहाँ पुगेको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । जुन प्रचलित व्यवस्थाको बर्खिलाप छ । अदालत वा नियामकले कारण खुलाएर मागेको अवस्था बाहेक त्यस्ता विवरणहरु चुहावट हुनु, लिक हुनु वा असम्बन्धित व्यक्‍तिकहाँ पुग्नु पूरापुर गैरकानूनी कार्य हो, हदैसम्मको दण्डनीय कसुर हो । जुन नबिलमा खुलेआम चलिरहेछ ।   

यतिसम्म कि नबिल स्टल डिलरमार्फत आफ्नै हामिकको श्रीमतीको कारोबार विवरणसमेत लिक भएको छ । अव आफ्नै श्रीमतीको विवरणसमेतको सुरक्षा गर्न नसक्ने वा नचाहाने हाकिमले तपाईं हाम्रो विवरणको सुरक्षा किन गर्थे होला र ! कम्पनीका सिनियर कर्मचारी मदन तिमिल्सीनाकी श्रीमती सिमोनी सेढाईको नामबाट भएको कारोबार विवरणसमेत लिक भएको छ । यसले दुई गम्भीर कुरा प्रष्ट पार्छ । पहिलो, कर्मचारीकी श्रीमतीले त्यहाँबाट कारोबार नै गर्न नपाउने नियम छ तर कारोबार भयो । दोश्रो विवरण लिक भएपछि कुन हदसम्म असुरक्षित छ नबिल स्टक डिलर भन्ने तथ्य पनि प्रमाणित भयो । सो विवरण अनुसार तिमिल्सीनाले श्रीमती सेडाईको नाममा २०८० साल माघ २१ गते, माघ २५ गते, माघ २९ गते, फागुन १६ गते र फागुन २३ गते गैरकानूनी रुपमा कारोबार गरेको देखिन्छ । 

यता तिमिल्सीनाले भने आफ्नो विवाह हुनुभन्दा अगाडि नै श्रीमती र सालोले आफ्नो ब्रोकरमार्फत कारोबार गरेको, तर फागुन १६ गते आफ्नो विवाह भएपछि कारोबार नगरेको दाबी गरेका छन् । तर, ढाँटेको कुरा काटेको कहाँ मिल्थ्यो र ? उनको विवाह फागुन १७ गते नभएर माघ १७ गते भएको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । यसबाट पनि उनले आफ्नो श्रीमतीका नाममा गैरकानूनी कारोबार गरेको र सो कारोबार लुकाउन खोजेको प्रष्ट देखिन्छ ।

त्यस्तै, नबिल बैंकको स्वामित्वमा रहेको नबिल स्टक डिलरमार्फत नबिल बैंकका डेपुटी जनरल मेनेजर आदर्श बजगाईंले आफ्नी छोरीको नाममा करोडौँको उधारो सेयर कारोबार विवरण पनि अर्थ सरोकारले प्राप्त गरेको छ । नबिल स्टक डिलरकै कर्मचारीले लिक गरेको बजगाईंको कारोबार विवरणसहितको स्टेटमेन्ट अनुसार सन् २०२४ जुन २९ देखि हालसम्म ११ करोड रुपैयाँको कारोबार बिना कोल्याट्रल गरेको र हालसम्म करिब डेढ करोड रुपैयाँ बक्यौता रहेको पनि भेटिएको छ । यस विषयमा नबिल स्टक डिलरकै कर्मचारीले नेपाल धितोपत्र बोर्डमा उजुरीसमेत दिएका छन् । अर्थ सरोकारलाई नबिल स्टक डिलर स्रोतले नै उपलब्ध गराएको बजगाईंको छोरीको कारोबार विवरणमा पनि उनको करिव डेढ करोड बक्यौता बाँकी रहेको देखिन्छ । विभिन्न मितिमा उनको छोरीका नाममा कारोबार भए पनि सो कारोबार बैंकमा बसेर बजगाईं स्वयमले गर्ने गरेको र यस विषयमा बैंकले उनलाई संरक्षण गरिरहेको आरोपसमेत उजुरीमा उल्लेख छ । यसले अर्को तथ्य पनि देखाउंछ- ‘डिजीएम साप बैंकमा काम गर्छन् कि ११ देखि ३ सेयरको कारोबार ?’ यो अझ थप गम्भीर विषय होइन र ?

नबिल स्टक डिलरमार्फत कारोबार गर्ने लगानीकर्ताको विवरण लिक भएको प्रमाणसहितको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि नबिल स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिमान श्रेष्ठलेसमेत गल्ती स्वीकारेका छन् । उनले आफुहरुकहाँबाट ग्राहकका गोप्य विवरण असम्बन्धित व्यक्‍तिकहाँ पुगेको स्वीकार गर्दै ग्राहकका कारोबार विवरण लिक हुनु गलत भएको बताएका छन् । उनले कम्पनीको गल्ती स्वीकार्दै आगामी दिनमा सेवा सुधार्दै लैजाने बताएका छन् ।

प्रमाण नै बाहिरिएपछि, सिइओ सापले नै गल्ती स्वीकारिसकेपछि खासमा यो कम्पनीमाथि नियामक नेपाल धितोपत्र बोर्डले कारवाही गर्नुपर्ने हो । तर उधारो कारोबार गर्ने आदर्श बजगाईं र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ नै क्लासमेट भएको साइनोका कारण न गलत गर्ने मदन तिमिल्सीनालाई बोर्डले कारवाही गर्न सकेको छ, न विवरण लिक गर्नेको पहिचान गर्न खोजेको छ । बजगाईंलाई कारवाही हुने त प्रश्न नै रहेन ।

परिणाम, गोप्य रहनुपर्ने विवरण पनि भकाभक लिक हुन थालेपछि नबिल स्टक डिलरमार्फत कारोबार गर्नेहरु घटेका छन् । हुन पनि आफ्नो विवरण नै सुरक्षित छैन भन्ने जान्दाजान्दै कसले गर्छ त्यस्तो कम्पनीमार्फत कारोबार ? हो, यही तथ्य बुझेका लगानीकर्ताले नबिल स्टक डिलरमार्फत कारोबार गर्न छोडेका हुन् । पछिल्लो केही समययता नबिल स्टक डिलरमार्फत ठूलो परिमाणमा कारोबार गर्नेहरुलेसमेत कारोबार गर्न छोडेको स्वयम् नबिल स्टक डिलरका कर्मचारीहरुले पुष्टी गरेका छन् । 

नयाँ जोगिले खरानी धेरै घस्छ भन्ने त उखानै छ नि ! नयाँ बनेर सेयर बजारमा प्रवेश गरेको नबिल स्टक डिलरको हविगत पनि खरानी घसेको नयाँ जोगिकै जस्तो देखिएको छ । अझ कम्पनीबाट लिक भएका कारोबार विवरणहरु छरपस्ट हुँदा पनि कम्पनीले भने ‘हामी ग्राहकका विवरणको गोपनीयताको सुनिश्चितता गर्छौं’ भन्न छोडेको छैन । नियम र नियामक नै मेरो मुट्ठीमा छन् भनेझैँ गरेर मनपरी गरिरहेको नबिल स्टक डिलरमाथि अब कारवाही डण्डा चलाउने पो हो की ? 

यहाँ बोर्ड अध्यक्ष श्रेष्ठज्यूलाई दुई मध्ये एक विकल्प छ । आदर्श साथी हो भनेर सबै कुरामा आँखा चिम्लिने वा, हजारौं लगानीकर्ताको विवरण महत्वपूर्ण हो भन्ने बुझेर ७७ लाई कारवाही गर्ने । आफूकहाँ परेको उजुरीउपर कारवाही प्रक्रिया अगाडि बढाउने कि साथीलाई सुटुक्क जानकारी दिएर तामेलीमा राख्ने । थिति बसाल्ने कि साथीसँगै गैर नैतिकताको सति जाने । इक्षा बोर्ड अध्यक्षज्यूकै ।

सन्तोष नारायण श्रेष्ठसँग धेरैले अपेक्षा गरेका छन् । उनले सेयर बजार बुझेका छन्, बजारका समस्या बुझेका छन् भन्ने धेरैलाई लागेको छ र सोहि अनुसारको अपेक्षा छ आम जनताको उनीमाथि । सपथ ग्रहणमै पनि श्रेष्ठले आम लगानीकर्ता आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए । अव उनले सपथमा कसम खाएजसरी लगानीकर्ताको हितमा नबिललाई कारवाही गर्छन् कि एउटी अधबैंसे केटीका लागि एउटा अल्लारेले घरपरिवार, समाज सबै छोडेजसरी साथीले जागिर खाईरहेको कम्पनी हो भनेर साथीको मुख हेर्छन् त्यो हेर्न बाँकी नै छ । सबै कुरा प्रष्ट छ, नबिल स्टक डिलरको सिष्टम भ्रष्ट छ । त्यसैले धितोपत्र बोर्डले यो कम्पनीलाई डण्डा चलाउनुपर्छ । साथीभाइको फण्डाले आफैंलाई डुबाउन सक्छ है अध्यक्षज्यू । बाँकी त अध्यक्ष तपाईं, कलम तपाईंको, साहस तपाईंको, इक्षा पनि तपाईंको । (भिडियो) 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी