काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा (साउनदेखि माघसम्म) बैंकहरुको नाफामा झिनो सुधार देखिएको छ ।
माघ मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
चालु आर्थिक वर्षको ७ महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिल बैंकले यसअवधिमा ४ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै, सबैभन्दा धेरै नाफा कमाउने बैंकहरुको सूचीको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ । ग्लोबल आइएमई बैंकले यसअवधिमा ३ अर्ब ८९ करोड र तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
यसअवधिमा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकको नाफा १ अर्बभन्दा तल छ । माघ मसान्तसम्म एनआईसी एशिया बैंकको नाफा सबैभन्दा कम छ । यसअवधिमा बैंकले ४६ करोड ४७ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।