Skip to content
LAXMI SUNRISE BANK

फुच्चेले आमाको नामको ट्रक चलाएर यसरी गर्यो करोडौँको तस्करी, प्रहरी नै तीन छक ! (भिडियो ब्रिफ्रिङ)

अर्थ सरोकार

काठमाडौँ ।  हुन त यो देश चलाउनेहरुकै हातमा छन्, थुप्रै तस्करहरु । तस्करहरुले नै पैसा खर्च गरेर बनाइदिएका सांसद मन्त्री बनेर चलाउने देशमा खुलेआम तस्करी हुनु नौलो कुरा त होइन, तर यसपालीको नोट तस्करीमा प्रहरीले राम्रै सफलता हात पारेको छ । सुन तस्करीमा जेल परेर छुटेपछि पुन: नोट तस्करी गर्न पल्किएका सिन्धुपाल्चोकका फुच्चे उपनामले चिनिने ४३ वर्षीय कुसान लामा नोटसहित पक्राउ परेका छन् । र यो तस्करीको कनेक्सन सिधा चिनियाँ तस्करहरुसँग छ ।
मिति:  चैत्र ५ गते, स्थान, काठमाडौँ, समय राती । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट ना ७ ख १६५२ नम्बरको हाइलक्स गाडीमा लुकाएर लाँदै गरेको अवस्थामा २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित फुच्चे उपनामका ४३ वर्षीय कुसान लामा पक्राउ पर्छन् । भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर करोडौं रुपैयाँ चीनतर्फ तस्करी गरिरहेका छन् भन्ने प्रारम्भिक सूचनाका आधारमा प्रहरीले चलाएको अपरेशनका क्रममा उनी पक्राउ परेका थिए। पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बरामद भएको युरो नेपाली बजार मूल्यअनुसार २० करोड ७६ लाख ४७ हजार ६ सय ५० रुपैयाँ र अमेरिकी डलर नेपाली मूल्यअनुसार चार करोड ४२ लाख ७७ हजार ३ सय रुपैयाँ हुन आउँछ।
प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । २०७३ पुस १३ मा अपराध महाशाखा (हाल उपत्यका अपराध अनुसन्धान कार्यालय) ले उनलाई पक्राउ गरेको थियो ।  २०७८ सालमा उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर छुटेका थिए । जेलबाट छुटेपछि लामाले फेरी सुन तस्करी सुरु गरेको प्रहरीको भनाइ छ । त्यस बेला उनी ७ केजी सुनसहित पक्राउ परेका थिए ।
प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । लामा भरिया मात्र हुन्, यो तस्करीका पछाडी नाइके अरु नै छन् भन्ने प्रहरीलाई राम्रोसँग थाहा छ । र त अनुसन्धानको क्रममा विभिन्न कोणबाट अनुसन्धान भईरहेको छ र केहि थप व्यक्तिहरु पनि छिट्टै पक्राउ पर्ने विश्वास प्रहरीको छ ।
अझ खास कुरा त के छ भने समातिएको ट्रक पनि लामाकै आमाको नाममा छ । ट्रकमा विदेशी नोट राख्नु २० दिन अघिदेखि उनले ट्रकमा रंग लगाउन भन्दै ग्यारेजमा राखेका थिए ।
ट्रक उनको आमाको नाममा छ । उनले ट्रकमा विदेशी मुद्रा राख्नुअघि २० दिनदेखि रङ लगाउन ट्रक ग्यारेजमा राखेका थिए । सुन तस्करीमा ५ वर्ष जेल बसेर रिहा भएपछि उनले ट्रक चलाउने काम गरेका थिए । तर, ट्रक चलाउने क्रममा पुन: उनको हिमचिम तस्करसँग बढ्यो । उनले यो ट्रक केरुङ्गसम्म पुर्याउन सबै सेटिङ्ग भईसकेको थियो । तर, कहाँ मालिकको कुरा मिलेन कुन्नि, उनको ट्रक काठमाडौँमै समातियो ।
प्रहरीका अनुसार चालक लामाले त्यस ट्रक रसुवागढीसम्म लगेर छाड्ने र रसुवाकै मानिस वा भिसाप्राप्त व्यक्तिको मिलेमतोमा सो ट्रक सिमा कटाएर केरुङ्गसम्म पुर्याउने योजना बनेको थियो । उनले यहाँ त्यत्रो विदेशी पैसा कसरी साटे त ? कहाँबाट आयो त्यत्रो विदेशी मुद्रा ? हामीले थोरै डलर साट्दा पनि त्यसको सिमा राखिएको हुन्छ, पासपोर्ट मागिन्छ, अनि लामाले वा तिनका हाकिमले यत्रो पैसा कसरी संकलन गरे त ? यसको स्रोत के हो त ? पैसा साट्ने निजी निकायहरूमार्फत् अवैध रूपमा साटेको हो वा अरु केहि ? प्रहरीले यस विषयमा पनि अनुसन्धान गरिरहेको छ ।
चालक लामाले प्रहरीसँगको बयानमा काठमाडौंको सामाखुसी क्षेत्रमा पार्किङ गरिराखेको आफ्नो ट्रकमा कसैले पैसा लोड गरिदिएको बयान दिएका छन् । यसको अर्थ यो प्रकरणमा मालिक अरु नै कोहि छ, र लामा भरिया भनेका छन् ।
प्रहरीले चालक लामालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ बमोजिम अनुसन्धान गर्न राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरलाई बुझाएको छ । प्रहरी र राजश्व अनुसन्धान टोलीले बरामद भएका विदेशी मुद्राको सिरियल नम्बर रेकर्ड राखेर अनुसन्धान थाल्नेछन्। यो पैसा विभिन्न कानुनी प्रक्रिया पूरा गरी सरकारी राजश्वमा दाखिला हुनेछ ।
ट्रकमा २५ करोड बराबरको विदेशी मुद्रा भेटिएको घटना त एउटा घटनाको कुरा भयो । तर कहिलेसम्म देश तस्करहरुका लागि ट्रान्जिट पोइन्ट बनिरहने, यो गम्भीर विषय बनेको छ । कहिले सुन काण्ड, कहिले डलर काण्ड । आखिर कहिलेसम्म यो देश तस्करहरुका लागि स्वर्ग बनिरहने हो ? यस विषयमा गम्भीर बन्न जरुरी छ । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK