काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रचारबाजी गरेर स्थापित हुन खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउने अभिव्यक्ति दिएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
कुलमान घिसिङलाई लक्षित गर्दै उनले अहिले कर्मचारीहरुबीच काम गरेर भन्दा प्रचारबाजी गरेर स्थापित हुन खोज्ने होडबाजी चलिरहेको बताएका छन् ।
उनले कानून र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले त्यस्ता कर्मचारीलाई लगाम लगाएर ठिक ठाउँमा ल्याउने चेतावनी दिएका छन् । ‘काम गरेर स्थापित हुने कोसिस गरौँ ।’, उनले भने, ‘त्यसो भएन भने सरकारले लगाम लगाएर ठिक ठाउँमा राख्छ ।’
त्यस्तै, उर्जामन्त्री खड्काले सन् २०३५ भित्र जडित क्षमता २८ हजार ५ सय मेगावाट र प्रतिव्यक्ति विद्युत खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्याउने लक्ष्य रहेको बताएका छन् । उनले आगामी दुई वर्षभित्र मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पुर्याउने लक्ष्यसहित सरकार अघि बढेको पनि बताएका छन् । उनले गरिब र विपन्न वर्गले महसुल तिर्न नसकेकै कारण विद्युतको पहुँचबाट वञ्चित हुन नपरोस् भन्नको लागि प्रतिमहिना ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको समेत उल्लेख गरेका छन् ।