काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का १६ वटै बैंक खाता रोक्का भएको छ । कमिटीको विभिन्न ९ बैंकमा रहेका १६ वटै बैंक खाता रोक्का भएको हो ।
कमिटीको नाममा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक र नेपाल बैंक लिमिटेडमा रहेका सम्पूर्ण खाता रोक्का गरिएको बैंकहरुले जनाएका छन् ।
एनओसीका सबै खाता रोक्का गरिएको बारे ९ वटै बैंकहरुले बैशाख ११ गते खेलकुद मन्त्रालयलाई जानकारी गराएका छन् । मन्त्रालयले एनओसीका सबै खाता रोक्का गर्न बैशाख ७ गते पत्राचार गरेको थियो ।
यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकले एनओसीका बैंक खाता रोक्का गर्ने र एनओसीका पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार एनओसीका सबै बैंक खाता रोक्का गरिएको छ भने एनओसीका पदाधिकारीलाई विदेश भ्रमणमा पनि रोक लगाउने तयारी गरिएको मन्त्रालय स्रोतले बताएको छ ।