काठमाडौँ । नेपाल बैंक लिमिटेडले साढे दुई अर्ब बढी नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले कमाएको खुद नाफा गत आर्थिक वर्षको तुलनामा २ हजार ३२ प्रतिशतले धेरै हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्बबाट ७७ करोड रुपैयाँबाट बढेर ७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ६६ करोडबाट घटेर २८ करोड २८ लाख रुपैयाँमा झरेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज घटेसँगै नाफा बढेको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ २६ पैसा रहेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ७४ पैसा रहेको छ । चैत मसान्तसम्म बैंकको लभांश वितरण गर्न सक्ने क्षमता २.७८ प्रतिशत छ । कुल १४ अर्ब ६९ करोड ४० लाख २२ हजार चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ रहेको छ ।