काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिका सदस्यले राजिनामा दिएका छन् । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिका सदस्य रहेका पूर्व गभर्नर विजयनाथ भट्टराई राजिनामा दिएका हुन् ।
राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारले गत चैत १८ गते नै गभर्नर सिफारिस समिति गठन गरेको थियो ।
यसो त राष्ट्र बैंक ऐन अनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अघि नै गभर्नर नियुक्त गरिसक्नुपर्नेमा अझैसम्म सिफारिस समितिको बैठकसमेत बस्न नसकेपछि भट्टराई रुष्ट थिए । त्यसैमाथि गभर्नरको नियुक्तिमा व्यापक राजनीतिकरण हुन थालेपछी उनले पदबाटै राजिनामा दिने निर्णय गरेको स्रोतको दाबी छ ।
हाल सत्ता साझेदार नेकपा एमाले र नेपाली काँग्रेसबीच सहमति हुन नसक्दा गभर्नर नियुक्ति प्रक्रिया अल्झिएको छ । त्यसैमाथि गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले नै सदस्यबाट राजिनामा दिएपछि गभर्नर नियुक्ति तत्काल नहुने पक्का देखिएको छ ।
यसअघि अन्य निकायको नियुक्ति एमालेलाई दिएर गभर्नर आफ्नो भागमा पार्ने र शेर बहादुर देउवाका उम्मेदवार डा. गुणाकर भट्टलाई गभर्नर बनाउने विषयमा एमाले-काँग्रेसबीच सहमति भएको चर्चा चलेको थियो । तर, भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएपछि एमालेले सोही विषयलाई देखाएर गभर्नर नियुक्तिमा ढिलाई गरेको काँग्रेस नेताहरुको आरोप छ ।