काठमाडौँ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्को अपरिस्कृत वित्तीय विवरण अनुसार यो नाफा गत आर्थिक वर्षको तुलनामा ९१.८१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४०.६६ प्रतिशत घटेको छ ।
त्यस्तै, चैत मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत र सञ्चालन मुनाफा ६४.४० प्रतिशत घटेको छ भने बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब १४ करोडबाट बढेर ३ अर्ब ५ करोड पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढेपछि बैंकको नाफा दबाबमा परेको हो ।
यस अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेको छ । यस अवधिमा बैंकको इपिएस १५ रुपैयाँ ८९ पैसा घटेर १ रुपैयाँ ४० पैसामा झरेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा पनि ३ अर्ब ५६ करोड रुपैयाँ ऋणात्मक छ । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २६६.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा छ ।