काठमाडौँ । नेपाल सेयर बजार लगानीकर्ता संघका पदाधिकारीले नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. नीलम ढुंगानालाई भेटेका छन् । भेटमा संघका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठको नेतृत्वमा गएको टोलीले सेयर बजारको सुधार र लगानीकर्ता हितमा सहकार्यका सम्भावनाबारे छलफल गरेको हो ।
भेटको क्रममा अध्यक्ष श्रेष्ठले संघको स्थापना, उद्देश्य र दीर्घकालीन योजनाहरूको विस्तृत जानकारी दिँदै सेयर बजारमा पारदर्शिता, वित्तीय साक्षरता र सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताए । उनले सेयर बजारलाई सुरक्षित र समावेशी बनाउने संघको प्रतिबद्धता रहेको बताएका थिए ।
त्यत्सै, संघका संस्थापक महासचिव रबिन कँडेलले गभर्नर ढुंगानालाई संघको औपचारिक पत्र हस्तान्तरण गर्दै हालको बजार अवस्थाबारे जानकारी गराएका थिए । उनले सेयर बजारमा देखिएका चुनौतीहरू र सम्भावनाहरूको चर्चा गर्दै राष्ट्र बैंकसँग सहकार्यको इच्छा व्यक्त गरेका थिए ।
गभर्नर ढुंगानाले संघको पहलको प्रशंसा गर्दै लगानीकर्ता शिक्षाको महत्वमा जोड दिइन् । उनले सेयर बजारलाई दीर्घकालीन रूपमा सबल बनाउने हो भने उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्ने धारणा राखेकी थिइन् । हाल सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूको ६० प्रतिशत बढी हिस्सा रहेको उल्लेख गर्दै उनले उत्पादनमूलक कम्पनीहरूको सहभागिता बढाउन आवश्यक रहेको बताइन् ।
ढुंगानाले राष्ट्र बैंक प्रत्यक्ष रूपमा सेयर बजारको नियामक नभए पनि मौद्रिक नीति र ब्याजदरमार्फत बजारमा प्रभाव पार्ने उल्लेख गर्दै संघका साक्षरतासम्बन्धी प्रयासहरूमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
भेटमा संघका वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, महासचिव रबिन कँडेल, सचिव भुवन ढकाल, कोषाध्यक्ष मछिन्द्र बस्नेत, सदस्यहरू विवेक श्रेष्ठ, सुदर्शन गौतम र मिना भट्टको पनि उपस्थिति रहेको थियो। संघले यो भेटले राष्ट्र बैंकसँग भविष्यमा सहकार्यको लागि सकारात्मक आधार तयार गरेको भन्दै यस्ता संवादलाई निरन्तरता दिने जनाएको छ ।