काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर नेपाल इन्भेष्टर्स फोरमले आफ्ना मागहरु राख्ने र सुझावहरु दिने कार्यक्रम थियो । तर गभर्नरले व्यस्तताको कारण देखाउँदै उनीहरुलाई अलि पछि समय दिए । तर, त्यस अघि नै मौद्रिक नीतिको समिक्षामार्फत गभर्नरले सेयर कर्जाको जोखिम भार घटाईदिएपछि इन्भेष्टर्स फोरमका नेताहरुले आफ्नो बासी मागमध्ये एउटा माग नै हटाएर गभर्नर भेट्नुपरेको खुलेको छ । इन्भेष्टर्स फोरमका नेताहरु भन्दा राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. पौडेल सेयर बजारको शुभ चिन्तक देखिएपछि बजारका लगानीकर्ताका नाममा नेतागिरी गरिरहेकाहरुलाई आपत परेको हो ।
नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नरलाई भेटेर इन्भेष्टर्स फोरमका नेताहरुले तीन सुझावहरू सिएका छन् । जसमध्ये कुनै पनि नयाँ छैन । उनीहरुले पूरानै १५ करोडको सिमा हटाउन, बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर खरीद गर्ने पुरानो व्यवस्था पुनः लागू गर्न र लघुवित्त संस्थाहरूको लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको क्याप हटाउन माग गरेको छन् । जवकि १५ करोडको क्याप हटाउने र बैंकहरुलाई सेयर खरिदको व्यवस्थामा केहि परिमार्जन गर्ने तयारीका सम्बन्धमा राष्ट्र बैंकले यसअघि नै छलफल सुरु गरिसकेको छ ।
आफुभन्दा बढी बजारमैत्री गभर्नर देखिएपछि सेयर लगानीकर्ताका नेताहरु खिन्न देखिएका थिए ।