×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायीदेखि बैंकरसम्म हनि ट्र्यापको जालोमा, प्रेमको नाटक गरेर पैसाको चलखेल ! (भिडियो ब्रिफिङ)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

व्यवसायीदेखि बैंकरसम्म हनि ट्र्यापको जालोमा, प्रेमको नाटक गरेर पैसाको चलखेल ! (भिडियो ब्रिफिङ)

Artha Sarokar

१२ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

काठमाडौँ । बिना सहमति, कसैलाई भोग गर्न खोज्नु त परकै कुरा भो, कसैप्रति गिद्दे नजर राख्नु पनि अक्षम्य अपराध हो । अझ विना सहमति जवर्जस्ती करणी गर्नु त फौजदारी अपराध हो, र यस्तो गर्ने अपराधीहरुलाई हदैसम्मको सजाय हुनुपर्छ भन्ने कुरामा पनि दुई मत छैन । नाबालिगको अवस्थामा सहमति राखे पनि अपराध हो, बालिग भएपछि विना सहमति कसैलाई जवर्जस्ती गर्नु पनि अपराध हो, विना सहमति यौनदृष्टि राख्नु पनि एक खालको अपराध नै हो । नेपालको कानुनले परिकल्पना गरेको यो तथ्यमा कुनै सन्देह छैन । तर, पछिल्लो समय नेपाली समाजमा त्यहि कानुनलाई देखाएर जसरी पुरुष फसाउने खेल भईरहेको छ, र त्यो खेलमा जसरी पैसाको चलखेल भईरहेको छ, त्यो झन् महाअपराध हो । र आजको स्ट्रेट फरवार्डमा हामी यस्तै केहि तथ्य र हनि ट्रयापको जालोमा फसिरहेका नेपालीहरुको कथा सुनाउँदैछौँ ।

घटना नम्बर १
कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौँ महानगरपालिका–५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भइ काठमाडौँ हाँडिगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भनिने आँचल चौगुठी यस्तै हनि ट्रयापको घटनामा संलग्न देखिएका छन् । पुरुषहरुलाई माया जालको नाटक गर्ने, फसाउने, रक्सी पिलाएर मत्ताउने, अनि होटलमा लगेर नाङ्गो बनाउने । पछि त्यसको फोटो र भिडियो खिचेर ब्ल्याकमेल गर्ने । पैसा दिए केस खत्तम, पैसा नदिए, सबै कुरा आउट गरिदिन्छु भनेर धम्की दिने । इज्जतको डरले पुरुषहरुले दिएको पैसाले मोज मस्ती गर्ने, जिन्दगी चलाउने । तर उनीहरु यसपटक प्रहरीको फन्दामा परे । काठमाडौँका बिनय गौतम (नाम परिवर्तन) जो आफैंमा सरकारी कर्मचारी हुन्, उनलाई पनि ती युवतीहरुले त्यसै गरेका थिए । तर ब्ल्याकमेलिङ पछि गौतमले पैसा दिएनन् बरु प्रहरीलाई खबर गरे । र उनीहरु पक्राउ परे ।

यो केसमा भएको के हो ? अव त्यो पनि बुझौँ । ५६ वर्षीय गौतमलाई गत चैतमा ‘टिकटक गर्ल’ नामको आईडीबाट फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । प्रोफाइलमा सुन्दर युवतीको फोटो देखेपछि गौतमले उक्त ‘रिक्वेस्ट’ एक्सेप्ट गरे । रिक्वेस्ट एक्सेप्ट गरेको करिब एक हप्तासम्म दुवै पक्षबीच कुनै संवाद भएन । पछि ‘टिकटक गर्ल’ नामको उक्त आइडीबाट गौतमलाई ‘हाई’ भन्दै मेसेज आयो । गौतमले तुरुन्ते ‘हेल्लो’ भन्दै रिप्लाई गर्छन् । त्यसपछि उनीहरुबीच थप कुराकानी हुन्छ । केही समय सामान्य कुराकानी गरेका उनीहरु बिस्तारै एकअर्काप्रति आकर्षित हुन्छन् र गफगाफको सीमा ‘हाई–हेल्लो’ हुँदै भेटघाटसम्म पुग्छ । त्यहीबीच ती युवतिले गौतमलाई ‘कफि डेट’का लागि प्रस्ताव राख्छिन् । हेर्नमा राम्री, कुरा पनि राम्रै गर्ने युवतीले ‘कफि डेट’का लागि प्रस्ताव राखेपछि गौतमले ती युवतीको प्रस्ताव स्वीकार्छन् र ठमेलमा भेट भएर सँगै कफि पिउँछन् । गफ गर्छन् र अर्कोपटक फेरि भेटिने बाचा गर्दै छुट्टिन्छन् । उनीहरुबीच गफगाफ झनै बाक्लो हुन्छ ।

त्यहीबीच ती युवतीले गौतमलाई फेरि ‘डिनर डेट’का लागि प्रस्ताव राख्छिन् । गौतमले सहजै स्वीकार गर्छन् र उनीहरु ठमेलको एक रेष्टुरेन्टमा भेट हुन्छन् । भेटमा उनीहरुले मदिरा पनि पिउँछन् । ‘टिकटक गर्ल’ बनेर आएका दुई युवतीले थोरै पिउँछन्, गौतमलाई धेरै पिलाउँछन् । पिउँदा पिउँदै मदिराले मातेपछि ती युवतीहरुले गौतमलाई होटलको कोठामा लैजान्छन् । गौतमसँग नग्न तस्विरहरु खिचाउँछन् र होटलबाट बाहिरिन्छन् । मदिराले अचेत बनेका गौतम होस् आउँदा उनी होटलको कोठामा एक्लै हुन्छन् । नसाले छोडेपछि उनी घर फर्किन्छन् । त्यसको करिब १० दिनसम्म ती युवती र गौतमबीच कुनै संवाद हुँदैन । त्यसपछि भने गौतमलाई फेरि नयाँ आईडीबाट रिस्वेस्ट आउँछ, गौतमले एक्सेप्ट गर्छन् । साथी बनेको केही बेरमै गौतमको मेसेन्जरमा नग्न फोटो र भिडियोहरु आउन थाल्छ । भिडियो र फोटोमा आफूलाई युवतीसँग नग्न अवस्थामा देखेपछि उनी छाँगाबाट खसेजस्तै हुन्छन् । त्यसपछि ती युवतीले गौतमलाई ‘ब्ल्याकमेलिङ’ गर्न सुरु गर्छन् ।

काठमाडौँमा एउटा घर, नभए चार आना जग्गाको डिमान्ड गर्छन् । नदिए मिडिया लिएर प्रहरीमा जाने र बलात्कारमा केस हालेर फसाउने धम्की दिन्छन् । यसरी ती युवती र गौतमबीच बार्गेनिङ चलिरहेका बेला उक्त बार्गेनिङमा दुई पुरुषको इन्ट्री हुन्छ । उनीहरुले पनि गौतमलाई धम्काउने र मिलाउन खोजेको नाटक गर्छन् । हदै भएपछि गौतम प्रहरीमा पुग्छन् । उनले आफूसँग भएको सबै घटनाको विवरण प्रहरीमा सुनाउँछन् र प्रहरीकै योजनामा ती युवतीलाई पाँच लाख दिने र अरु रकम पछि दिने सहमति गर्छन् । पाँच लाखको चेक दिने सहमतिपछि उनीहरु हनुमानस्थानमा भेट हुन्छन् र गौतमले ती युवतीलाई प्राइम कमर्सियल बैंकको ५ लाखको चेक दिन्छन् । त्यही बेला काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोलीले दुई युवतीलाई पक्राउ गर्छ । हाल गौतमले दिएको पाँच लाखको चेक बरामद गरेर प्रहरीले दुई युवतीमाथि थप अनुसन्धान अघि बढाएको छ । उनीहरुले हनी टर्यापमा पारेर रकम असुल्ने उद्धेश्य बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यतिसम्म की पक्राउ परेकामध्ये आँचल विवाहित महिला भएको र सम्बन्धविच्छेद गरेर बसेकी महिला भएको पन अनुसन्धानबाट खुलेको छ । प्रहरीले उक्त ‘हनी टर्याप’मा संलग्न अन्यको पनि खोजी गरिरहेको छ । हाल पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ ।

घटना नम्बर २
कुरा नेपालको बाणिज्य बैंकका ब्रान्च मेनेजरको हो । बैंकमा खाता खोल्न आएकी एक युवतीले कामका लागि भन्दै ब्रान्च मेनेजरको नम्बर लिन्छिन् । कामकै लागि होला भनेर पनि होला, युवतीले मागेर पनि होला, ती पुरुष बिएमले सहजै नम्बर दिन्छन् । विस्तारै ती युवतीले उनलाई फोन गर्न थाल्छिन् । व्हाट्सएपमा मेसेज गरेर के छ भन्दै हालखबर बुझ्न खोज्छिन् । यसरी सुरु भएको उनीहरुको कुराकानी, भेटघाट गर्ने कफी डेट गर्नेसम्म पुग्छ । एक दिन कफीको सट्टा मदिरा पिउने अफर आउँछ युवतीबाट । ती बैंकरले सहजै मान्छन् । मदिराको नशामा उनीहरु त्यो रात त्यहींको नजिकैको होटलमा बस्छन् । भोलिपल्ट देखि महिलाको नम्बर अफ हुन्छ, मेसेज आउन छोड्छ, फेसबुकमा ती बैंकर ब्लक्ड हुन्छन् । त्यसको केहि दिनमा नयाँ फेक आइडीबाट ती बैंकरलाई उनका नग्न भिडियोहरु पठाईइन्छ । फोटोहरु पठाईन्छ । आफुलाई १० लाख पैसा नदिए जागिर पनि खाइदिने, भिडियो पनि सार्वजनिक गरिदिने धम्की आएपछि बल्ल उनले आफु फसेको थाहा पाउँछन् ।

माथिका दुई त केहि प्रतिनिधि घटनाहरु मात्र हुन् । यसरी हनि ट्रयापमा पारेर पछिल्लो समय थुप्रै युवतीहरुले युवाहरुबाट लाखौँ लुटिसकेका छन् । कति केस पैसामा टुंगिन्छन्, कति केस प्रहरीसम्म पुग्छ । तर तीतो सत्य यहि हो, कि अधिकांश केस पैसा दिएरै टुंगिएका छन् । यस्ता हनी ट्रयापका केसहरु हेर्न प्रहरीलाई अहिले भ्याइनभ्याई छ । अझ यसरी हनी ट्रयापमा परेर पैसा दिन नमानेपछि थुप्रैलाई बलात्कारको आरोप लगाइएको छ । केहीलाई प्रहरीले पक्राउ गरेको छ भने केहीले अदालतबाट सफाई पाएका छन् ।

हनि ट्रयापमात्र होइन, सुरुमा लभ पर्दा तिम्रा लागि ज्यानै सुम्पिन्छु भनेर हप्तैपिच्छे आफैं भेटेर रोमान्स गर्ने, ब्रेक अप भएपछि बलात्कारको मुद्धा लगाईदिन्छु भनेर ब्ल्याकमेल गर्ने वा प्रहरीमा उजुरी गर्नेहरुको संख्या पनि दिनानुदिन बढेको छ । अझ पछिल्लो समय त कलेजका केटाकेटीहरुले के सम्म गर्न थालेका छन् भने, सुरुमा रोमान्स गरेर त्यसको भिडियो बनाउने, पछि आफुलाई छोडेर अर्को रोजे त्यहि भिडियो देखाएर ब्ल्याक मेल गर्ने, कि तैं चाहिन्छ भन्ने, कि पैसा माग्ने, कि आफुले बोलाएको बेला बोलाएकै ठाउँमा आउन सहमतिको सर्त राख्ने । यसरी थुप्रै केटाकेटीहरुको जिन्दगी तहस नहस भएको छ ।

अझ कतिपय त केस यस्ता पनि छन्, बलात्कार मुद्धामा बर्षौं जेल बसेपछि पनि केटा निर्दोष सावित भएका घटनाहरु छन् । यस्तै पछिल्लो केस सतहमा आएको छ । काठमाडौँको घट्टेकुलोमा दिदी र भिनाजुसँग बस्ने २१ वर्षीय बिरन्जनले एउटा त्यस्तै झुटो बलात्कार मुद्धामा सफाई पाएका छन् ।

उनी सरस्वती क्याम्पसमा बीबीए प्रथम वर्षमा पढ्दै थिए । दिन राम्रै चलिरहेको थियो । एक दिन अचानक महिला सेल, कालीमाटीबाट खटिएका प्रहरीले उनलाई पक्राउ गरे । उनीविरुद्ध बलात्कार मुद्दामा अनुसन्धान र अभियोजन भयो । उनी थुनामा पनि परे । तर थुनामा परेको ५ वर्ष ८ महिना थुनामा बसेका उनी निर्दोष साबित भए । थुनामै बसेर बिरन्जनले काठमाडौँ जिल्ला अदालत, उच्च अदालत पाटन र सर्वोच्च अदालतमा मुद्दा लड्नुपर्दाको कथा कहालीलाग्दो छ ।

भएको के थियो भने महिला सेलमा २०७६ भदौ २३ मा एक जना किशोरीले उनीविरुद्ध बलात्कार कसुरको किटानी जाहेरी दिइन् । आफूभन्दा तल्लो फ्ल्याटमा बस्ने किशोरीले उनीमाथि लगाएको आरोप थियो, ‘बिरन्जनले मलाई ललाइफकाइ, झुक्क्याइ, धम्की दिँदै निजको कोठामा लगेर ढोकाको चुकुल लगाइ जबरजस्ती मेरो मुख थुनी, हात पक्री जबरजस्ती करणी गरे ।’

तर, प्रहरीकहाँ १ महिनापछि पुगेको र उमेर पनि १८ बर्ष पुगेपनि नपुगेको भनेर ढाँटेको, नाम पनि ढाँटेको, सो काम बलात्कार नभएर सहमतिमा भएको लगायतका तथ्यलाई टेकेर सर्वोच्चले यादवलाई सफाई दियो । यो केसका भित्री तथ्य धेरै छन्, जुन कुनै अर्को अंकमा सुनाउँला, तर सर्वोच्चले नै सफाई दिएपछि अव उनले बलात्कार गरेका थिएनन् भन्ने तथ्य साबित भयो । तर उनलाई तल्ला दुई अदालतले दोषी करार गरेका थिए ।

अझ पछिल्लो कानुनको अपव्याख्या गरेर फटाहा केटीहरुको मुखमा झुन्डेको थेगो बनेको छ – मैले भनेको मान्ने भए मान नत्र पुलिस केस गरिदिन्छु । कुनै बेला मन मिलेर सँगै बसेका जोडी पछि मन नमिलेर अलग हुन् खोज्नु अन्यथा नहुन सक्छ । तर त्यहि बीच कुरो आउँछ, कि मै सँग बिहे गर, होइन भने पुलिस केस गरिदिन्छु । होइन भने मलाई यति पैसा ले, नत्र पुलिस केस गरिदिन्छु ।

नेपालमा यस्ता केसहरु यति बढेका छन् कि के भन्ने ? लाखौँ होइन करोडौंको यस्तो केसमा कारोबार भएको छ । तर के गर्नु ? बाध्यतामा परेर धेरै ठाउँमा पुरुषहरु पिडीत हुँदा पनि उनीहरुका पक्षमा बोल्ने मान्छेहरु निकै कम छ । त्यसमाथि इज्जतको कुरा त छँदै छ । यसो भन्नुको अर्थ, अधिकांश महिलाहरु आफ्ना साथीहरुलाई यसै गरी फसाउँछन् वा यस्तै गलत हुन्छन् भन्न खोजेको पक्कै होइन । तर यस्ता केसहरु जसरी बढीरहेका छन्, ख्याल गर्नुपर्ने बेलाचाहिं भएको छ है भन्ने कुरातर्फचाहिं सबैको ध्यान जान जरुरी भईसकेको छ ।

धेरै केटाहरु महिलाबाट फस्नुको पछाडी फेरी केटाहरुकै गल्ती पनि छ । कोहि राम्री केटीको फ्रेन्ड रिकोइस्ट आउनै हुन्न, आफ्नो दोस्तलाई हटाएर पनि त्यहि युवतीको फ्रेन्ड रेकोइस्ट एसेप्ट गर्न उसलाई हतारो हुन्छ । कोहि युवतीले डेटमा बोलाए, उ आफुलाई राजकुमार सम्झन्छ, कोहि युवतीले मदिराको अफर गरे, उ आफुलाई संसारकै भाग्यमानी सम्झन्छ, अनि कसैले सँगै भोग गर्ने अफर गरे उसले केहि सोच्दैन, यौनको उन्मादले उसलाई फसाईहाल्छ । अनि पछि हनी ट्रयापमा परेको थाहा पाएपछि उसंग कि पैसा दिएर इज्ज्जत जोगाउने, कि बेइज्जती सहने कि प्रहरीकहाँ पुग्ने बाहेक विकल्प रहन्न । त्यसैले ख्याल गरौँ । दुई दिनको जिन्दगीमा डेढ दिन नै तनाब हुने गरी बैंशको उन्मादमा नफसौं । फसिहाले नासहौं, प्रहरीकहाँ खबर गरौँ । बाँकी तपाईंको मर्जी । यति भन्दा भन्दै पनि कसैलाई नआएको बैंश तपाईंलाई आउँछ भने, भीरमा जाने गोरुलाई हामी राम राम मात्र भन्न सक्छौँ, काँधै थाप्नचाहिँ सक्दैनौँ । (भिडियो ब्रिफिङ)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी