काठमाडौँ । मूल्य र नापतौल हेरफेर गर्ने नेप ट्रेड प्रालि कारवाहीमा परेको छ । काठमाडौँ महानगरपालिका-१३ बाफलमा रहेको उक्त कम्पनीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको हो ।
उक्त उद्योगलाई कारवाहीस्वरुप उपभोक्ता संरक्ष ऐन, २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार उक्त कम्पनीलाई उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि कारवाही गरिएको हो । त्यसबाहेक विभागले भक्तपुर नगरपालिका-१ स्थित भक्तपुर मोर्डन इंग्लिस स्कुललाई समेत आवश्यक कागजात लिएर तीन दिनभित्र उपस्थित हुन विभागले निर्देशन दिएको छ ।
त्यस्तै, अनुगमन गरिएका १२ उद्योग तथा फर्ममध्ये ४ उद्योग तथा फर्मलाई सामान्य निर्देशन र ६ उद्योग तथा फर्मलाई ऐन अनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।