काठमाडौँ । सर्लाहीमा आफ्नो पसलबाट सुन नकिनेको भन्दै सुन व्यवसायीले स्थानीयलाई सुँगुरको खोरमा थुनेको पाइएको छ । पर्सा गाउँपालिका- ५ का तस्लिम अन्सारीलाई सुन व्यवसायी राजेन्द्र साह सुनाले सुँगुरको खोरमा थुनेर यातना दिएको पाइएको हो ।
आफ्नो छोरीको विवाहको तयारीमा रहेका अन्सारीले राजेन्द्रको सुन पसलबाट गहना नकिनेपछि उनलाई सुँगुरको खोरभित्र थुनेर यातना दिएको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अन्सारी जेठ ८ गने हुने छोरीको विवाहको तयारीमा थिए । छोरीको विवाहका लागि आफ्नै सुन पसलबाट गहना किन्न राजेन्द्रले अन्सारीलाई दबाब दिँदै आएका थिए । निरन्तर धम्कीपूर्ण शैलीमा दबाब दिन थालेपछी दुवै पक्षबीच भएको छलफलमा अन्सारीका दाइ दिल महमद अन्सारीले राजेन्द्रलाई थप्पड हानेका थिए । सोही रिसमा राजेन्द्र, उनका छोरा कमलेश र साथीहरुले तस्लिम अन्सारीलाई सुँगुरको खोरमा थुनेर यातना दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटना बाहिरिएपछि प्रहरीले अन्सारीलाई सुँगुरको खोरमा थुनेर यातना दिने राजेन्द्र, उनका छोरा कमलेश, छोराका साथीहरु पप्पुकुमार यादव र राहुलकुमार महतोलाई पक्राउ गरेको छ । त्यस्तै, छलफलका क्रममा राजेन्द्रमाथि हातपात गरेको आरोपमा तस्लिम र उनका दाजुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा दुवै पक्षले एकअर्काविरुद्ध प्रहरीमा उजुरी दिएकाले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार राजेन्द्र समूहविरुद्ध अधर्म र अमानवीय व्यवहार सम्बन्धी कसुरमा उजुरी परेको छ भने तस्लिम समूहविरुद्ध अभद्र व्यवहार सम्बन्धी उजुरी परेको छ ।