काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ परेका छन् । बैंकको २ अर्ब ५० करोड रुपैयाँ हिनामिना प्रकरणमा संलग्नता देखिएपछि बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई पक्राउ गरिएको हो ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँबाट पक्राउ गरेको हो । यद्यपि, उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको स्रोतको दाबी छ ।
बैंकको रकम अपचलन प्रकरणमा सीआईबीले छानविन सुरु गरेपछि उनी फरार थिए । हाल पक्राउ परेका बैंकका तत्कालीन अध्यक्ष राय, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा बैंकको २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भेटिएको थियो ।
यसो त बैंकको सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानविन समितिले बैंकको अन्य बैंकमा रहेको खाताको रकम र बैंकको कोर बैंकिङ प्रणालीमा रहेको रकमबीच अन्तर निकाल्दा २ अर्ब ५० करोड हिनामिना भएको भेटाएको थियो । यसरी बैंकमा कर्मचारीको मिलेमतोमा करोडौँ हिनामिना गरेको भेटिएपछि सीआईबीले अनुसन्धान थालेको छ ।
कर्जा दुरुपयोग गरेको भन्दै बैंकका तत्कालीन अध्यक्ष राय राष्ट्र बैंकको कारवाहीमा समेत परिसकेका व्यक्ति हुन् । उनलाई राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा ५ लाख जरिवाना तिराएको थियो । हाल समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले ‘टेक ओभर’ गरिसकेको छ । हाल बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूहले सञ्चालन गरेर बैंकमा सुधारात्मक काम गरिरहेको छ ।