काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाईदैछ । इतिहासकारहरुका अनुसार करिव ८ सय बर्ष अघिसम्म जावलाखेलमा मात्र मनाइने यो जात्रा समयसँगै काठमाडौँ उपत्यकामा धेरैका लागि साझा पर्वसमेत बनिसकेको छ । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । यहि अवसरमा आज आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
भोटो जात्रामा मात्र होइन, अन्य बेला बखतमा पनि काठमाडौँमा सार्वजनिक बिदा हुन्छ । सार्वजनिक बिदाको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द हुन्छ । काठमाडौँ उपत्यकामा मात्र बिदा भए पनि देशभरमात्र होइन, विदेशमा बसेर नेपालको सेयर बजारमा कारोबार गर्नेहरुले पनि काठमाडौँ उपत्यका बिदाको अनुभव गर्न पाउँछन् । तर काठमाडौँ उपत्यका बिदा हुँदा सेयर बजार खुल्दा के बिग्रिन्छ ? वा होइन, परम्परालाई बजारसँग हेर्नु हुँदैन ? यस विषयमा सेयर बजारमा बहस सुरु भएको छ ।
सेयर बजार विश्लेषक मनिष अर्याल काठमाडौँ उपत्यका बिदा हुँदा देशभर सेयर कारोबार नरोक्दा पनि हुने राय राख्छन् । ‘अहिलेको समय अनलाइनको हो । केहि बैंकहरुलेसमेत होलिडे काउन्टर राखेर सार्वजनिक बिदाको दिन काम गर्छन् । उनीहरूसँग सेटलमेन्टमा कुरा गरेर बजार खुलाउँदा राम्रो हुन्छ ।’
अर्का बजार विश्लेषक सुवास चन्द्र भट्टराई नयाँ स्टक आएपछि यो कुराको सम्बोधन हुने आशा गर्छन् । ‘अहिलेको स्टक एक्सचेन्ज सरकारी भएकाले र कार्यालय काठमाडौँमा भएकाले काठमाडौँमा बिदा हुँदा बजार नै बन्द हुने स्थिति छ । नयाँ स्टक आएपछि यो कुराको सम्बोधन हुन सक्छ ।’
सेयर बजारका अग्रज लगानीकर्ता सुमनबाबु श्रेष्ठ जात्रा, पर्वहरूलाई बजारसँग जोडेर हेर्न नहुने बताउँछन् । ‘नेवारहरूका लागि जात्रा भनेको जात्रा हो नि, यसको ठुलो महत्व हुन्छ । यो दिन बिदा दिँदा जात्राप्रति अपनत्व हुन्छ । एक दिन बजार बन्द हुँदा झन् लाखौँ अन्य जातिका सेयर लगानीकर्ताले पनि हाम्रो पर्व बारे थाहा पाउँछन् । अरु कारणले उपत्यका बिदा हुँदा हामीलाई पनि थाहा हुन्छ । यो त नेपाली-नेपाली जोड्ने कडी हो । यसलाई रोक्नु हुन्न, उपत्यका बिदा हुँदा बजार बन्द गरिएकै ठिक छ ।’
नेप्सेले भने उपत्यका बिदाका दिन सार्वजनिक बिदा भएकाले नेप्सेमा काम गर्ने कर्मचारी बिदामा बस्ने हुनाले बजार बन्द गर्नुपरेको दाबी गर्दै आएको छ । ‘सरकारले नीति बनाए समस्या नै छैन । तर नीति नबनुन्जेल, खाईपाई आएको बिदा मनाउनुपर्यो ।’ नेप्सेका कर्मचारीको भनाई छ ।