काठमाडौँ । ९० रुपैयाँ भन्दा कम नेटवर्थ भएका हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति नदिन सार्वजनिक लेखा समितिले निर्देशन दिएपछि तनावमा परेका हाइड्रो व्यवसायी गुहार माग्न अर्थ समिति पुगेका छन् । सार्वजनिक लेखा समितिको उक्त निर्णयले हाइड्रो व्यवसाय नै संकटमा परेको भन्दै उनीहरु अर्थ समिति पुगेका हुन् ।
लेखा समितिको निर्देशनले पूँजी संकलन गरेर निर्माण सम्पन्न गर्न खोजेको हाइड्रोपावर कम्पनीलाई मर्का परेको भन्दै समितिमा उजुरी परेको अर्थ समितिका सभापति सन्तोष चालिसेले बताएका छन् ।
उनले हाइड्रोपावर कम्पनीको आईपीओ निष्कासनका विषयमा सार्वजनिक लेखा समितिले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर निर्देशन दिएको बताएका छन् । हाइड्रोपावर कम्पनीको आईपीओ सम्बन्धी विषय अर्थ समितिको क्षेत्राधिकारभित्र परे पनि लेखा समितिले क्षेत्राधिकार बाहिर गएर निर्देशन दिएको उनको भनाई छ ।
सार्वजनिक लेखा समितिले निर्देशन दिइसकेको विषयमा अर्थ समितिमा उजुरी परेपछि हाल उक्त विषयमा अर्थ समितिमा छलफल भइरहेको छ । यद्यपि, लेखा समितिले क्षेत्राधिकार भन्दा बाहिर गएर अर्थ समितिको राय समेत नलिई निर्देशन दिएकाले सो विषयमा विज्ञ र सरोकारवालाको सुझावका आधारमा मध्यमार्गी खोजिने र आईपीओ निष्कासन नरोकिने अवस्था हुनेगरि निर्णय गरिने चालिसेले बताएका छन् ।
तर, सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले भने कुनै एउटा संसदीय समितिले गरेको निर्णय अन्य समितिले सम्मान गर्नुपर्ने भन्दै त्यसतर्फ सचेत रहन पनि सांसदहरुलाई आग्रह गरेका छन् । यद्यपि अर्थ समिति भने लेखा समितिको उक्त निर्णय उल्टाएर ९० रुपैयाँ भन्दा कम नेटवर्थ भएका कम्पनीहरुलाई पनि आईपीओ निष्कासनको अनुमति दिने तयारीमा लागेको छ ।
यसो त सार्वजनिक लेखा समितिले २०८० पुषमा वित्तीय अवस्था कमजोर भएका कम्पनीमा लगानी गर्दा लगानीकर्ताको लगानी जोखिममा पर्न सक्ने भन्दै नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासन अनुमति नदिने निर्णय गरेको थियो । र सो निर्णय कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । समितिको निर्देशनपछि बोर्डले ९० रुपैयाँ भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओको पाइपलाइनबाटै हटाएको थियो ।
समितिको उक्त निर्देशनविरुद्ध हाइड्रो व्यवसायी अर्थ समिति पुगेका छन् । लेखा समितिको निर्णय उल्टाएर आईपीओ निष्कासनको बाटो खुला गर्न हाइड्रो व्यवसायीहरुले शक्ति केन्द्र धाउने र लबिङ गर्ने काम समेत सुरु गरिसकेका छन् ।