काठमाडौँ । भोटो जात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) समेत बन्द भएपछि सेयर लगानीकर्ता आक्रोशित बनेका छन् । उपत्यकामा सार्वजनिक बिदा हुँदा सेयर बजार नै बन्द भएपछि देशभरका लगानीकर्ता कारोबार गर्न पाउने अधिकारबाट बञ्चित भएको भन्दै लगानीकर्ता आक्रोशित पोखेका हुन् ।
उनीहरुले ‘उपत्यका मात्रै देश हो ?’ भन्दै प्रश्न गर्दै उपत्यका बिदामा सेयर बजार नै बन्द गर्नू लाखौँ सेयर लगानीकर्ताप्रतिको अन्याय भएको बताएका छन् ।
त्यहीबीच सेयरगुरु सुवासचन्द्र भट्टराईले पनि उपत्याका बिदामा सेयर बजार नै बन्द गर्नु ठिक नभएको प्रतिक्रिया दिएका छन् । यति सम्मकी उनले सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग्यात्मक टिप्पणी गर्दै नेपाल स्टक एक्सचेञ्जको नाम परिवर्तन गरेर काठमाडौँ स्टक एक्सचेञ्ज राख्नुपर्ने बताएका छन् ।
‘काठमाडौँमा सार्वजनिक बिदा हुँदा सेयर बजार पनि बन्द हुने हुँदा नेपाल स्टक एक्सचेञ्जको नाम बदलेर काठमाडौँ स्टक एक्सचेञ्ज राखौँ ।’, भट्टराईले फेसबुकमा लेखेका छन् ।
त्यस्तै, उनले नयाँ स्टक एक्सचेञ्जको कर्पोरेट कार्यालय चाहिँ बुटवलमा राख्नुपर्ने बताएका छन् । त्यसो हुँदा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुँदा पनि सेयर बजार बन्द नहुने र लगानीकर्ताले पनि कारोबार गर्न पाउने भट्टराईले बताएका छन् ।