Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंक भन्छ- ‘२० अर्ब हराएको छैन’, उजुरीकर्ता भन्छन्- ‘अध्यक्षले पनि घुस खाएको छैन भन्थे, छानबिनपछि हराएको भेटिन्छ’

अर्थ सरोकार

काठमाडौँ । केही दिनअघि नेपाल बैंकबाट २० अर्ब रुपैयाँ हराएको र सो रकम खोजिदिन भन्दै महालेखा परीक्षकको कार्यालयमा निवेदन परेको थियो । बैंकबाट साना तथा मझौला उद्योग कर्जा शीर्षकमा २०७४ चैत्र र २०७५ असारमा स्वीकृत कर्जाको रकम बैंकको सिस्टमबाट हराएको भन्दै अंगराज भारतीले महालेखा परीक्षकको कार्यालयमा उजुरी दिएका थिए । 

उनले बैंकको सिस्टमबाटै हराएको सो रकम खोजीदिन र दोषीको पहिचान गरी कारवाही गर्न सोही उजुरीमार्फत माग समेत गरेका थिए । भारतीले उजुरीमा बैंकले करिब २० अर्ब ४० करोड १५ लाख रुपैयाँ कर्जा रकम गलत ऋणी देखाएर अपचलन गरेको आरोप लगाएका छन् । 

बैंकबाट पैसा हराएको र सो पैसा खोजीदिन भन्दै महालेखामा निवेदन परेपछि यो विषय सतहमा आएको हो । तर, बैंकले भने उजुरीमा भनिएजस्तो कुनै रकम पनि नहराएको बताएको छ । बैंकले बैंकबाट कुनै पनि रकम नहराएको र बचतकर्ताको सबै पैसा बैंकमा सुरक्षित रहेको बताउँदै आएको छ । 

यता उजुरीकर्ता भारतीले भने बैंकबाट रकम हराएको दाबी गर्छन् । अर्थ सरोकारको सम्पर्कमा आएका उनले बैंकले गलत ऋणी देखाएर रकम अपचलन गरेको र सो अपचलनमा बैंककै हाकिमहरुको समेत मिलेमतो भएको दाबी गरेका छन् । तर, बैंकले त पैसा हराएकै छैन भन्छ नि ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘बैंकका अध्यक्षले पनि घुस खाएको छैन नै भन्थे । छानबिन हुँदा घुस खाएको ठहर भयो, अहिले भ्रष्टाचार मुद्दा दायर भएको छ । हो, त्यस्तै छानबिन हुने हो भने बैंकबाट रकम हराएको पनि भेटिन्छ ।’

गत सोमबारमात्रै बैंकका अध्यक्षले ऋण दिने नाममा घुस लिएको प्रमाणित भएपछि बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । डा. अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै अख्तियारले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तिलक राज पाण्डेविरुद्ध पनि अनुसन्धान अगाडि बढाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK