काठमाडौँ । आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले आयुर्वेदिक औषधिको करको दरमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेका छन् । बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै महानिर्देशक दाहालले आयुर्वेदिक औषधिमा नयाँ कर लगाइएको नभई अघिल्लो वर्षहरुदेखि लाग्दै आएको कर दरलाई मात्र निरन्तरता दिइएको बताएका हुन् ।
उनले स्थानीय उत्पादनको प्रवर्द्धन र संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अत्यावश्यक वस्तुमा कर छुट दिने नीति लिएको समेत बताएका छन् ।
अत्यावश्यक वस्तुमा कर छुट दिने राज्यको नीति नै रहेको दाहालको भनाई छ । आगामी आर्थिक वर्षको बजेटमा स्थानीय उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने हिसाबले छुर्पी, रुद्राक्ष लगायतमा लाग्ने करसमेत खारेज गरेको बताएका छन् ।
त्यस्तै, उनले आर्थिक वर्षको लागि बजेट निर्माणका क्रममा करका सम्बन्धमा सरकारको घोषित नीतिभन्दा बाहिर नगएको जिकिर गरेका छन् ।