काठमाडौँ । घरजग्गा कारोबारमा सरकारले कडाइ गरेको छ । घरजग्गा कारोबारका नाममा अत्याधिक कालोधन प्रयोग भएको र त्यही कारण नेपाल ग्रे-लिस्टमा परेको निष्कर्षसहित सरकारले घरजग्गा कारोबारमा कडाइ गरेको हो ।
अब घरजग्गा कारोबार गर्दा वा लिखित पारित गर्दा जग्गा किन्ने र बेच्ने दुवैले अनिवार्य रुपमा बैंकको स्टेटमेन्ट बुझाउनुपर्नेछ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारमा अवैध कालोधन रोक्न मातहतका सबै मालपोत कार्यालयहरुलाई पत्रमार्फत निर्देशन यस्तो निर्देशन दिइसकेको छ ।
योसँगै अबदेखि घरजग्गा कारोबारमा खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण (बैंक स्टेटमेन्ट) लिखतसाथ संलग्न गराउनुपर्ने विभागको निर्देशनमा उल्लेख गरिएको छ ।
तर, बैंक स्टेटमेन्टबिना नै कारोबार गराएको देखिएमा मालपोतका कर्मचारी नै दोषी देखिनेछन् । अर्कोतर्फ एकै दिन तीन करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार गर्नेहरु अब सोझै राष्ट्र बैंक अन्तर्गत तानिनेछन् । तीन करोड वा सो भन्दा बढीको कारोबार भए कारोबारमा संलग्न किन्ने र बेच्ने दुवैको विवरण सम्बन्धित मालपोत कार्यालयहरुले सोझै राष्ट्र बैंक पठाउनुपर्नेछ ।
त्यस्तै, विभागले घरजग्गा कारोबारमा १० लाख रुपैयाँ भन्दा माथिको कारोबारमा नगद कारोबार पूर्ण रुपमा बन्देज लगाएको छ । चेकमार्फत कारोबार गर्दा भने बिक्रीकर्ताको नाममा ‘गुड फर पेमेन्ट’ चेक बनाएर किनबेच सल्टाउन विभागले निर्देशन दिएको छ ।