काठमाडौँ । नेपाल बैंकमा ऋण मिलाइदिने नाममा बैंकका तत्कालीन अध्यक्षदेखि बैंकका विभिन्न शाखाका कर्मचारीले घुस खाँदा ‘कोड भाषा’ प्रयोग गर्ने गरेको पाइएको छ । ऋणीसँग घुस माग्ने क्रममा बैंकका अध्यक्षले ‘राष्ट्र बैंक’ कोड भाषा प्रयोग गरेर घुस माग्ने गरेको पाइएको छ भने कर्मचारीहरुले भने यस्तो कोड भाषा ‘चिया’ राखेको पाइएको छ ।
अध्यक्षको कोड ‘राष्ट्र बैंक’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मात्रै बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको छ । बैंकबाट ऋण मिलाईदिने नाममा घुस लिएको प्रमाणित भएपछि अख्तियारले अधिकारीविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।
बैंकका अध्यक्षले सन्तोष सुवेदी नाम गरेका विचौलियालाई प्रयोग गरेर घुस खाएको आरोप अख्तियारको छ । अनुसन्धानका क्रममा बैंकका अध्यक्षले ‘राष्ट्र बैंक मिलाउनुपर्छ’ भन्दै सुवेदीमार्फत घुस मागेको र उनीमार्फत नै घुसको रकम च्यानलाइज गरेको भेटिएको छ । अनुसन्धानका क्रममा ऋण माग्नेहरुलाई ‘राष्ट्र बैंक मिलाउनुपर्छ’ भन्ने नाममा घुस उठाएको पाइएको हो ।
कर्मचारीको कोड- ‘चिया’
यसो त बैंकका अध्यक्षमात्र होइनन्, नेपाल बैंकका ब्रान्च मेनेजर तहका कर्मचारीहरुले पनि घुस खाईरहेको पाइएको छ । यसअघि बैंककै इन्टरनल अडिट रिपोर्टले पनि बैंकका विभिन्न शाखामा ब्रान्च मेनेजरहरुले हुँदै नभएको कम्पनीलाई ऋण दिएको, ऋण दिएवापत घुस लिएको र त्यसरी घुस लिएको रकममात्र नभई ऋणीको पैसा नै चलाईदिएको भेटिएको तथ्य निकालेको थियो । सो क्रममा ‘घुस्याहा’ कर्मचारीहरुले ‘चिया’ कोड भाषा प्रयोग गरेर घुस माग्ने गरेको पाइएको थियो ।
यद्यपी बैंकको सिनियर व्यवस्थापनले संरक्षण गर्दा चियाका नाममा घुस खाने त्यस्ता कर्मचारीउपर कारवाही हुन सकेको छैन । यद्यपी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकका सीइओ तिलक राज पाण्डेउपर पनि अनुसन्धान गरिरहेको छ ।