काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गभर्नर बन्न नपाउने व्यवस्था गर्ने तयारी गरिएको छ । गभर्नर नियुक्ति प्रक्रियालाई लक्षित गर्दै सरकारले कानून संशोधन गरेर यस्तो व्यवस्था गर्ने तयारी गरेको हो ।
कानून संशोधनका लागि नेपाल राष्ट्र बैंकले तयार गरेको प्रारम्भीक मस्यौदामा बैंक तथा वित्तीय संस्थाका सिइओ गभर्नर बन्न अयोग्य हुने उल्लेख गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाको सिइओ नै नियमनकारी निकायमा पुग्दा स्वार्थको द्वन्द्व बाझिन सक्ने र नियमन स्वच्छ नहुने जोखिम हुने भन्दै बैंक तथा वित्तीय संस्थाको सिइओ राष्ट्र बैंकको गभर्नर बन्न नमिल्ने व्यवस्था गर्न लागिएको स्रोतले बताएको छ ।
अर्कोतर्फ कानून संशोधनमार्फत राष्ट्र बैंकका कार्यकारी निर्देशक समेत गभर्नर बन्न नमिल्ने व्यवस्था गर्ने तयारी गरिएको अर्थ मन्त्रालय स्रोतको दाबी । स्रोतका अनुसार डेपुटी गभर्नरलाई छोडेर कार्यकारी निर्देशकलाई गभर्नर बनाउँदा ‘चेन अफ कमान्ड’ भत्किने जोखिमका कारण यस्तो व्यवस्था गर्न लागिएको हो ।