काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । राष्ट्र सेवक नेपालीका नामबाट गभर्नर पौडेलेको नियुक्तिका विषयमा छानविन गर्न अख्तियारमा उजुरी परेको हो ।
उजुरीमा राष्ट्र बैंक ऐन, २०५६ मा भएको मापदण्ड विपरित पौडेललाई गभर्नर नियुक्ति गरिएको दाबी गरिएको छ ।
राष्ट्र बैंक ऐनमा गभर्नर बन्न आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रमा लब्धप्रतिष्ठित भएको हुनुपर्ने उल्लेख छ । तर, गभर्नर पौडेलको योग्यता सफ्टवेयर इन्जिनियरिङमा स्नातक तह, रिसोर्स एग्रिकल्चरमा स्नातकोत्तर र रिसोर्स एग्रिकल्चरमै विद्यावारिधि गरेको उजुरीमा दाबी गरिएको छ ।
गभर्नर पौडेलको योग्यताले गभर्नर बन्न राष्ट्र बैंक ऐनमा गरिएको योग्यताको व्यवस्था पुष्टि हुन नसक्ने उजुरीमा उल्लेख छ । यही कारण राष्ट्र बैंकको गभर्नर बन्न पौडेल अयोग्य रहेको उजुरीमा दाबी गरिएको छ । यसरी विषयगत विज्ञता नभएका व्यक्तिलाई गभर्नर बनाउँदा मुलुकको अर्थतन्त्र समेत जोखिममा रहने उजुरीमा उल्लेख गरिएको छ । अर्कोतर्फ गभर्नर पौडेलको सम्बन्धित क्षेत्रमा काम गरेको कार्यानुभव समेत नरहेको उजुरीमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंक ऐनमै राजनीतिक दलका सदस्य तथा पदाधिकारी गभर्नरमा नियुक्त हुन अयोग्य हुने व्यवस्था छ। ‘तर, पौडेलले कांग्रेसको महासमिति सदस्यको हैसियतले गत महासमिति बैठकमा सहभागिता जनाएको र सोही पार्टीबाट आधिकारिक उम्मेदवार भई २०७९ माघ महिनाको प्रतिनिधिसभा सदस्यमा चितवन क्षेत्र नं. १ मा तेस्रो स्थान प्राप्त गरी पराजित भएका हुन्’, उजुरीमा भनिएको छ।
त्यस्तै, गभर्नर पौडेल काँग्रेसबाट २०७९ मा चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनाव लडेको र रास्वपाका सांसद हरि ढकालसँग पराजित भएकाले पनि गभर्नरमा पौडेलको नियुक्ति राष्ट्र बैंकले ऐन विपरीत भएको उजुरीमा दाबी गरिएको छ । तसर्थ गभर्नर पौडेलको नियुक्तिको विषयमा छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउन पनि उजुरीमा माग गरिएको छ ।