काठमाडौँ । कन्फर्म घाटा हुने भए पनि प्रति इकाई १० रुपैयाँका दरले बिक्री भइरहेको ग्लोबल आईएमई समुन्नत योजना २ मा लगानीका नाममा संस्थागत लगानीकर्तासँग रहेको जनताको पैसामाथि मनपरी भइरहेको खुलासा भएको छ । घाटा हुने कन्फर्म हुँदा पनि संस्थागत लगानीकर्तालाई पावरका भरमा जबर्जस्ती भिडाईराखिएको यो म्युचुअल फण्डमा लगानी गर्ने धेरै संस्थागत लगानीकर्तामा जनताको पैसा छ । सो पैसालाई जानीजानी घाटा हुने ठाउँमा लगानी गरेर जनताको पैसामा भद्दा मजाक गरेको पाइएको हो ।
कसरी गरिँदैछ जनताको पैसामाथि मनपरी ?
‘ग्लोबल आइएमई समुन्नत योजना-२’ म्युचुअल फण्डको सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ । तर, यो फण्डमा आजकै दिनमा लगानी गर्नु सरासर घाटाको बिजनेश हो । कारण, १० रुपैयाँ प्रति इकाई भन्दा कम मूल्यमा म्युचुअल फण्ड बजारमा किन्न पाइन्छ ।
ग्लोबल आईएमई क्यापिटलका कर्मचारी पनि लगानी घाटामा जाने कन्फर्म भएको स्वीकार्छन् । यद्यपी बढी इकाई किन्न पाइने भएकाले लगानीकर्ताले यो फण्डमा पैसा हाल्दा हुने तर्क हुनीहरुको छ । तर ’जति धेरै इकाई किन्यो, त्यति नै धेरै घाटा भएन र ?’ भन्ने प्रश्नको जवाफ उनीहरुसँग छैन ।
बजारमा यो म्युचुअल फण्डभन्दा भन्दा सस्तो मूल्यमा राम्रो म्युचुअल फण्ड पाइरहेको र यसमा कन्फर्म घाटा हुने देखेपछि बुझेका लगानीकर्ताको यसमा चासो छैन । सर्वसाधारण लगानीकर्ताको चासो नभएपछि यो फण्डमा जनताको लगानी रहेको अन्य संस्थागत लगानीकर्ताहरुलाई पैसा हाल्न लगाइएको छ, जुन सरासर घाटामा जाने निश्चित छ ।
यो योजनाको प्रकार बन्दमुखी योजना हो । क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । तर, अहिलेकै नेतृत्वबाट यो सम्भव नभएको जानकारहरुको दाबी छ । नेपाली सेयर बजारमा विवादित छविका मनदीप लुइटेल यो कम्पनीका सीइओका रुपमा कार्यरत छन् ।