काठमाडौँ । ‘नेप्से बुल्स’ नाम रक्सी उत्पादन गर्दै आएको सागर डिस्टिलरीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको स्वीकृति पाएको छ । कम्पनीले साउन १२ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएको हो ।
कम्पनीलाई बोर्डले १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता सेयर निष्कासनको अनुमति दिएको छ ।
योसँगै अब कम्पनीले आफ्नो पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्नेछ भने बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । उक्त आईपीओको अंकित मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ ।
कम्पनीको आईपीओ निष्कासका लागि बिक्री बन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल कम्पनीले नेप्से बुल्सबाहेक रोयल ब्लु, गभर्नर, ग्रेउल्फ लगायत ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ । यता कम्पनीले बोर्डबाट आईपीओ निष्कासको स्वीकृति पाएसँगै छिट्टै आईपीओ जारी गर्ने जनाएको छ ।