काठमाडौँ । नयाँ आर्थिक वर्षलाई सेयर बजारले ‘ग्रीन सिग्नल’ दिएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते बिहीबार सेयर बजारमा उछाल आएको हो ।
आज सेयर बजार मापक नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ बिन्दुमा पुगेको छ । नेप्सेमा कुल ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर खरिद बिक्री हुँदा रू. १६ अर्ब ५९ करोडमाथिको सेयर कारोबार भएको छ । यो कारोबार रकम ११ महिनायताकै उच्च हो ।
बिहीबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, आजको बजारमा ट्रेड टावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, एनआईबिएल स्टेबल फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।
बिहीबार बैंकिङ समूहको सेयर मूल्य १.७६ प्रतिशत, विकास बैंकको १.९५ प्रतिशत, फाइनान्स समूहको २.८० प्रतिशत, होटल तथा पर्यटन समूहको २.६० प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य ३.०४ प्रतिशतले बढेको छ ।
सेयर बजारमा हरियाली छाएपछि सेयर लगानीकर्ता उत्साहित भएका छन् ।