काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले संसदीय समितिका दुईथरी निर्देशनले प्राथमिक सेयर (आईपीओ) निष्कासनमा आन्यौलता सृजना गरेको बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले लेखा समिति र अर्थ समितिको निर्देशनले आईपीओ जारीमा अन्यौल सृजना गरेको बताएका छन् ।
आईपीओ जारी गर्ने विषयमा सुरुमा अर्थ समितिले दिएको निर्देशन र पछि सार्वजनिक लेखा समितिले दिएको निर्देशन फरक फरक हुँदा निर्देशन मानेर काम गर्न पनि असहज भएको श्रेष्ठको भनाई छ । त्यस्तै, उनले आगामी दिनमा कसरी अगाडि बढ्ने ? भन्ने विषयमा समितिबाटै निर्देशन हुनुपर्ने बताएका छन् ।
यसो त गत पुष २ गते सार्वजनिक लेखा समितिले वास्तविक नेटवर्थ ९० प्रतिशत भन्दा कम भएका हाइड्रोपावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति नदिन बोर्डलाई निर्देशन दिएको थियो । तर, लेखा समितिले उक्त निर्णय समितिको कार्यक्षेत्र भन्दा बाहिर गएर गरेको भन्दै अर्थ समितिले नेटवर्थको विषयलाई देखाएर हाइड्रोपावर कम्पनीको आईपीओ नरोक्न निर्देशन दिएको छ ।
यसरी दुई संसदीय समितिले दुईथरी निर्देशन दिँदा काम गर्न अन्यौल भएको बोर्डको भनाई छ । त्यस्तै, बैठकमा अध्यक्ष श्रेष्ठले पूँजी बजार द्रुत गतिमा विकास भए पनि नियमन कमजोर रहेको स्वीकारेका छन् । उनले त्यसतर्फ आफूले सक्दो ध्यान दिएर काम गरिरहेको पनि बैठकमा बताएका छन् ।