काठमाडौँ । सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ परेपछि अल्ट्र लो क्यापहरु ह्वात्तै घटेका छन् । सोमबार अग्रवाललाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको हो ।
अग्रवाल पक्राउको खबर सार्वजनिक भएसँगै अग्रवालसँग सम्बन्धित अल्ट्रा लो क्याप कम्पनीहरुको सेयर मूल्य ह्वात्तै घटेका छन् ।
सोमबार ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा नेगेटिभ सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक नेगेटिभ सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सिन्धु विकास बैंक, जोशी हाइड्रोपावर र नेपाल फाइनान्स कम्पनीको सेयरमा पनि भारी गिरावट आएको छ ।
यसरी अग्रवाल पक्राउ परेपछि अल्ट्रा लो क्याप भनिएका कम्पनीको सेयर मूल्यमा भारी गिरावट आउनुलाई कतिपयले संयोग मात्रै भनेका छन् भने कतिपयले सावधानी अपनाइएको समेत भनेका छन् ।
अग्रवाललाई प्रहरीले आपराधिक लाभ तथा ठगी कसुरमा नियन्त्रणमा लिएको हो । उनीविरुद्ध केही दिनअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भएको बताइएको छ ।