काठमाडौँ । एक पटक छातीमा हात राखेर सम्झनुहोस् त ! तपाईं यो संसारमा सबैभन्दा बढी माया कसलाई गर्नुहुन्छ ? तपाईंमध्ये धेरैको जवाफ हुनुपर्छ, आमा बुवा, श्रीमती, बच्चाबच्ची । अव फेरी एक पटक सोच्नुहोस् त तपाईं आमा बुवा, श्रीमती वा बच्चाबच्चीलाई लिएर सँगै केमा सवार हुनुहुन्छ ? पक्कै पनि जवाफ आउँछ गाडी । त्यस्तो कसैलाई नहोस्, कामना छ, तर एक पटक सोच्नुहोस् त तपाईंलाई जन्मदिने आमा, कर्म दिने बा, संसारमा सबैभन्दा माया गर्ने श्रीमती र तपाईंले संसारमा सबैभन्दा माया गर्ने आफ्ना कलिला बालबच्चा र भगवानरुपी बाआमा चढिरहेको गाडीमा एक्कासी आगो लाग्यो भने के हुन्छ ? ओहो ! यो त सोच्न नै मन नलाग्ने कुरा हो नि, होइन र ? हो ! पक्का हो । र त हामी आज तपाईंले संसारमा सबैभन्दा बढी माया गर्नेहरुलाई सँगै राखेर चढ्ने गाडीमा कतै आगो त लाग्दै छैन ? कतै तपाईंको सपनाको त्यो गाडी फगत एउटा मेटलको डरलाग्दो बट्टा त होइन ?
बजारमा गाडीका मेला चलिरहेका छन् । यही मौकामा चौका हानेर महँगो मूल्य नाफा राखेर गाडीहरु बेच्ने काम भइरहेको छ । मेलामा राखिएका सबै गाडी झुर छन् भन्ने हुँदै होइन, तर केही गाडी किन्दा भने तपाईंहरुले ख्याल गर्नु नै पर्छ ।
घटना नम्बर १ः
केही समय अघि मात्रको कुरा हो, एमजी कम्पनीको इलेक्ट्रिक गाडीमा एक्कासि आगो लाग्यो । काठमाडौंको बुढानीलकण्ठमा चार्जिङमा राखिरहेको एमजीको विद्युतीय गाडीमा आगो लागेको थियो । महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेपछि यो घटना सतहमा आएको थियो । सो घटनामा गाडीमा एक्कासि आगो लाग्दा सो इभि गाडीको चारवटै टायर बलिसकेको थियो । गाडी पूर्ण रुपमा क्षति भयो । कम्पनीका प्रतिनिधि आए पछि सवारी धनीकै अगाडि प्रहरीले मुचुल्का उठाए पनि यो घटना गुपचुप राखियो । तर पार्किङ्गमा राखिएको गाडीमा एक्कासी आगो, घटना चानचुने थिएन, होइन ।
घटना नम्बर २ः
नेपालमा आयात भएका सेरेस ब्राण्डका इभि गाडीहरु कति सुरक्षित, कति असुरक्षित भन्ने बहस चलिरहेका बेला सेरेस ब्राण्डको विद्युतीय गाडीमा आगलागी भयो । काठमाडौंको सितापाइलामा सडक छेउमा पार्किङमा राखिएको सो गाडीमा आगलागी भएको थियो ।सीआरभी सितापाइलाका प्रहरी सहायक निरीक्षक शशीकुमार मण्डलका अनुसार सो गाडीमा एक्कासी आगो लाग्दा गाडीको अधिकांश भागमा क्षति पुगेको थियो । गाडीमा भएको प्राविधिक कमजोरीका कारण तारा शर्ट भई गाडीमा आगो लागेको हुनसक्ने आशंका गरियो । शंका र कारण जे भए पनि गाडीमा आगो लाग्यो ।
घटना नम्बर ३ः
केहि समय अघिको मात्र कुरा हो । सितापाइला सडक हुँदै काठमाडौं आइरहेको हुन्डाईको ‘क्रेटा’ पेट्रोल गाडीमा एकाएक आगलागी भयो । विहान करिब १० बजेको समयमा काठमाडौंको भीमढुंगा स्थित खड्का मोडमा हुन्डाई क्रेटा गाडीमा अचानक आगो लागेपछि यो घटना सतहमा आयो । गाडी लाजिम्पाट निवासी ५७ वर्षीय सुरेश श्रेष्ठले चलाइरहेका थिए भने गाडीमा उनीसहित एक जना अन्य सवार थिए । धन्न, मान्छेलाई केहि भएन । तर गाडी, पूर्ण रूपमा जलेर नष्ट भयो ।
यी त प्रतिनिधि घटनामात्र हुन्, नेपालमा इभि गाडीमा आगोको खुब जोखिम छ । अघि भनिएका ब्राण्डहरुमा भएको समस्या त पुष्टी नै भईसक्यो । नेपालमा फितलो नियमनका कारण हल्ला खल्ला बढी हुन्छ । गल्तीको ढाकछोप हुन्छ । माथिका ब्राण्डहरुमा समस्या देखिनु प्राविधिक कारण त दोषी छन् नै, सवारी किन्दा ख्याल नगरिनु पनि महत्वपूर्ण विषय हो । उदाहरणका लागि हुन्डाईलाई लिउँ । सीएनएनको रिपोर्टअनुसार गाडीमा आगो लाग्ने खतरा देखेपछि हुन्डाई र कियाले अमेरिकामा रहेका करिब ५ लाख कार तथा एसयूभी सवारीधनीहरुलाई घरबाहिर पार्क गर्न सल्लाह दिएका छन् ।
यी कम्पनीहरुले अमेरिकामा रहेका आफ्ना गाडीमा इन्जिनमा आगो लाग्न सक्ने सम्भावना रहेको कम्पनीहरुले जनाएका थिए भने यही कारण यी कम्पनीहरुले घरबाहिर गाडी पार्क गर्न सवारीधनीहरुलाई सुझाव दिएका छन्। रिपोर्ट अनुसार हुन्डाईले कुल ३ लाख ५७ हजार ८३० र कियाले १ लाख २६ हजार ७४७ युनिट कार फिर्ता मगाएका छन् । अमेरिकामा पो कुरा उठ्यो र कम्पनी बोल्यो, नेपालमा को बोल्ने ? कतै त्यस्तै गाडीहरुमा नेपालमा गुडा गुड्दै आगो लाग्ने त होइन ? कुरा गम्भीर छ ।
बिवाईडीको व्यापक चर्चा, जोखिम उच्च !
नेपालमा अहिले कुनै गाडीको सबैभन्दा बढी चर्चा छ भने त्यो हो बिवाईडी । कर छलेको प्रसङ्गदेखि गाडीमा देखिएको समस्याका कारण ग्राहकले खेप्नुपरेको हैरानीको अनिगिन्ती कथा छ । तर यस विषयमा को बोल्ने ? कसले आवाज उठाउने ?
केहि नहुन्जेल के नै भएको छ र ? भनेर कुरा उठाउने । भईसकेपछि रुने कराउने । यो नेपालीको बानी नै हो । तर अव सचेत हुनुपर्छ । अन्तराष्ट्रिय रिपोर्टहरु हेर्ने हो भने बिवाईडी धेरै आगो लाग्ने गाडीहरुमध्येको एक हो । चिनियाँ संचारमाध्यमले दुई बर्षमा मात्र ८६ वटा विद्युतीय सवारी साधनमा आगो लाग्दा सबैभन्दा बढी बीवाइडीकोको गाडीमा आगो लागेको बताएको छ । अनि हामीचाहिं अघिल्लो पटकको अटो शोमा देशकै नक्सा पचाउन खोज्ने त्यहि बिवाईडीलाई शान मानिरहेका छौँ ।
विभिन्न ब्राण्डका ईभीमा आगलागीको घटना सार्वजनिक हुने गरे तापनि ईभी आगलागीको घटनाको ठोस कारण दिन सकिँदैन । कम्पनी ब्याट्रीमा कुनै समस्या आउँदा यसबाट ’सर्ट सर्किट’ भई ’थर्मल रनवे’ नामक चेन रियाक्सन भई आगजनीको जोखिम बढ्ने रेडिमेड उत्तर दिन्छ । कम्पनी ग्राहकलाई दोष दिन्छ, ग्राहक कम्पनीलाई । जे भए पनि क्षति हुन्छ । ज्यान को त के नै मूल्य छ र ? होइन र ?
अहिले बजारमा विभिन्न ब्राण्डको बाढी नै आएको छ । यति धेरै ब्राण्डहरु नेपालमा आईसकेका छन् कि यस्तो नामको पनि गाडी छ र ? भन्ने स्थिति छ । ती मध्ये कतिपय ब्राण्डका त गतिला शो रुम पनि छैनन् । कतिले ग्राहकलाई हैरान पारेका छन् । यीमध्येका विभिन्न कम्पनीका बदमासी हामी एक एक गर्दै प्रस्तुत गर्दै जानेछौँ । अहिलेलाई यति भन्छौँ– गाडी सपना हो, तपाईंको सुरक्षा हो । लहलहैमा लागेर सुरक्षित हुनुपर्ने सवारी असुरक्षित हुन्छ भन्ने नबुझेर नकिनौं, भोलि चल्दा चल्दै गाडी जल्यो भने सर्वनाश हुन्छ । तपाईं बाँच्नुभयो भने पैसा त कमाउनुहोल्का, तर आमा, बा, श्रीमती, र मायालु बालबच्चा कमाउन सकिन्न । बाँकी त पैसा तपाईंको हामीले के नै भन्न सक्छौँ र ? (भिडियो)