काठमाडौँ । आज काठमाडौँसहित बागमती प्रदेशका विभिन्न ठाउँमा गाईजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज खासगरी काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले आज (आइतबार) बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ
योसँगै आज बागमती प्रदेशभर सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय, बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयहरु बन्द रहनेछन् । यी संस्थासँगै आज सेयर बजार पनि बन्द रहनेछ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यका लगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका नागरिकको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारहरुले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । बागमती प्रदेश सरकारसँगै आज संघीय सरकारले समेत काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।