काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेपछिको एक वर्षे कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्र पनि ४ खर्ब रुपैयाँले विस्तार भएको बताएका छन् ।
गतवर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र रहेको भन्दै ओलीले हालको उपलब्धि निकै ठूलो भएको बताएका छन् । उनले सरकारको कार्यकालको पहिलो ११ महिनामा रेमिट्यान्स १५.५ प्रतिशतले बढेको पनि बताएका छन् ।
त्यस्तै, ओलीले आफ्नो एक वर्षे कार्यकालमा विपद्जन्य घटना र विश्वव्यापी प्रतिकूलताबीच पनि राजश्व सङ्कलनमा ११.३ प्रतिशतले वृद्धि भएको बताएका छन् । उनका अनुसार वस्तु निकासीमा हालसम्मकै उच्च ८१.८ प्रतिशतले वृद्धि भएको छ भने चालु खाता र शोधनान्तर दुवै बचतमा छन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहेको र यसले १४.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने ओलीले बताएका छन् ।
साथै हाल सबै वित्तीय क्षेत्रका सूचक सबल रहेको र वित्तीय पहुँच बढेको पनि ओलीको भनाई छ । उनले निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको भन्दै पूँजी बजारमा लगानीकर्ताको आकर्षण पनि बढेको बताएका छन् । उनले यो एक वर्षे कार्यकालमा तीन दर्जन ऐन, कानूनहरु संशोधन भएको पनि बताएका छन् ।