काठमाडौँ । महालक्ष्मी विकास बैंकको करोडौँ अपचलन प्रकरणमा पक्राउ परेका चार जना कर्मचारीलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखामा भएको दुई करोड ८४ लाख ७६ हजार ७ सय अपचलनमा पक्राउ परेका बैंकका कर्मचारीलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो ।
पक्राउ पर्नेमा गोकुलेश्वर शाखाका तत्कालीन शाखा प्रबन्धक सागर शाही, नगद विभागकी कर्मचारी निर्मला साउँद, ग्राहक सहायता कक्षमा कार्यरत अम्बादत्त पन्त र कर्जा विभागमा कार्यरत धनन्जय पन्त छन् ।
उनीहरुलाई बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिएका छन् । उनका अनुसार उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
बैंककै कर्मचारीले रकम अपचलन गरेको पाइएपछि बैंकले गरेको इन्टरनल अडिटका क्रममा पक्राउ परेका चार जना कर्मचारीले बैंकको दुई करोड ८४ लाख ७६ हजार ७ सय रुपैयाँ अपचलन गरेको पाइएको थियो । प्रारम्भिक अनुसन्धानबाट बैंकका कर्मचारीले वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको छ ।
हाल उनीहरु चारै जनालाई निलम्बन गरिएको छ भने बैंकको नयाँ शाखा प्रबन्धक हेमराज जोशीलाई तोकेर काम सुरु गरिएको छ ।