काठमाडौँ । जेल जाने डरले नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विष्णु रेग्मी बैंकबाटै बाहिरिएका छन् । उनले स्वास्थ्यको कारण देखाउँदै पदबाटै राजिनामा दिएका हुन् ।
रेग्मीलाई बैंकको २०८० भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सिइओमा नियुक्त गरेको थियो ।
तर, उनले एक्कासि आफ्नो स्वास्थ्यका कारणले बैंकबाट राजिनामा दिएका छन् । रेग्मीको राजिनामा बैंकको सञ्चालक समितिको साउन २८ गते बसेको बैठकले साउन ३० गतेदेखि लागू हुनेगरि स्वीकृत गरिसकेको छ ।
रेग्मीको राजिनामापछि बैंकको सञ्चालक समितिले निमित्त प्रमुख कार्यकारी अधिकृत (कार्यवाहक सिइओ) को जिम्मेवारी कृष्ण दुवाडीलाई दिएको छ ।
यसो त रेग्मी सिइओ नियुक्त हुँदादेखि नै उनको कार्यकाल पूरा हुनेमा धेरैले शंका गरेको थिए । त्यसैमाथि वित्तीय अवस्था झुर र सुशासनमा निकै कमजोर रहेको नारायणी डेभलपमेन्ट बैंकभित्र वित्तीय अपराधका छुट्टै कथा छन् । त्यसैमाथि एकपटक समस्याग्रस्त घोषणा भइसकेको, सञ्चालनमा आएपछि पुनः शीघ्र सुधारात्मक कारवाही भोगेको र वित्तीय अवस्था पनि झनझन् बिग्रिँदै गएको स्वयम् राष्ट्र बैंकको रिपोर्टले यसअघि नै पुष्टि गरिसकेको छ ।
यसरी राष्ट्र बैंकको कारवाहीमा पर्दा बचेको प्रतिष्ठा पनि सक्किने र बैंकभित्र भएका वित्तीय अपराधका केसमा जेल नै जाने अवस्था आउन सक्ने देखेपछि उनले कार्यकाल नसकिँदै बैंक छोडेको स्वयम् बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भनेका छन् ।