काठमाडौँ । महालक्ष्मी विकास बैंकमा कर्मचारीले बैंकको पैसा अनलाइन जुवामा लगाएको घटना अहिले सतहमा छ । बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखामा बैंकका कर्मचारीले करोडौँ रुपैयाँ नेपालमा गैरकानूनी वान एक्स बेटमा लगाएका हुन् । तर, वान एक्स बेटमा लगाएको पैसा हारेपछि यो घटना सतहमा आएको हो ।
यसो त बैंकले भल्टको पैसा अपचलन भएको पाइएपछि सुरुमा यो केस नै गुपचुपमा राखेर कर्मचारीबाट पैसा असुल्ने तयारी गरेको थियो । स्वयम् बैंकले गरेको इन्टरनल अडिटका क्रममा पनि कर्मचारीले भल्टको पैसा वान एक्स बेटमा हिनामिना गरेको पुष्टि भएको थियो ।
तर, बैंकको रकम अपचलनबारे अर्थ सरोकारले समाचार सम्प्रेषण गरेपछि हाल यो अहिले प्रहरीसम्म पुगेको छ । हाल प्रहरीले उक्त प्रकरणमा संलग्न भनिएका बैंकको गोकुलेश्वर शाखाका चार जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
हाल पक्राउ पर्नेमा बैंकको गोकुलेश्वर शाखाका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन् । बैंकले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिएका छन् । डिएसपी दाहालका अनुसार उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
पक्राउ परेकी दार्चुलाको शैल्यशिखर नगरपालिका–९ घर भएकी निर्मला साउँद बैंकको गोकुलेश्वर शाखामा नगद विभागमा कार्यरत थिइन् भने बैतडीको पुर्चौडी नगरपालिका–३ का अम्बादत्त पन्त ग्राहक सहायता कक्षमा कार्यरत थिए । त्यस्तै, कैलालीको भजनी नगरपालिका–७ स्थायी घर भएका सागर शाही गोकुलेश्वर शाखाका शाखा प्रबन्धक थिए भने दार्चुलाको लेकम गाउँपालिका–१ घर भएका धनन्जय पन्त कर्जा विभागमा कार्यरत थिए ।
बैंकका शाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ परेपछि बैंकले गोकुलेश्वर शाखामा हेमराज जोशीलाई नयाँ शाखा प्रबन्धक बनाएर काम सुरु गरेको छ भने अन्य कर्मचारी पनि नयाँ हायर गरेको छ ।