काठमाडौँ । महालक्ष्मी विकास बैंकका चार जना कर्मचारी २६ दिनदेखि प्रहरी हिरासतमै छन् ।
बैंकको २ करोड ८५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखाका तत्कालीन शाखा प्रबन्धक सागर शाही, नगद विभागकी कर्मचारी निर्मला साउँद, कर्जा विभागका कर्मचारी धनन्जय पन्त र ग्राहक सहायता कक्षमा कार्यरत अम्बादत्त पन्तलाई पक्राउ गरेको थियो । उनीहरु पछिल्लो २६ दिनदेखि दार्चुला प्रहरीको हिरासतमै छन् ।
उनीहरुलाई चौथो पटक पनि म्याद थप गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाशचन्द्र दाहालले मंगलबार उनीहरुमाथि ७ दिन म्याद थप गरिएको बताएका छन् ।
डिएसपी दाहालका अनुसार उनीहरुलाई म्याद थपका लागि आइतबार नै उच्च अदालत महेन्द्रनगर इजलास पठाइएको थियो । सोमबार गौरा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा परेपछि मंगलबार अदालतमा पेश गरिएको थियो । अदालतले उनीहरुलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको डिएसपी दाहालले अर्थ सरोकारलाई बताएका छन् ।
उनीहरुमाथि बैंकको भल्टमा राख्नुपर्ने पैसा नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म ‘वान एक्स बेट’मा लगाएको आरोप छ । सो खुलासा भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । हाल प्रहरीले उक्त प्रकरणमा थप अनुसन्धान गरिरहेको छ । बैंकले चारैजना कर्मचारीलाई निलम्बन गरेर नयाँ कर्मचारी राखेर काम सञ्चालन गरिरहेको छ ।