काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देव कुमार ढकालले बैंकमा हरि कुमार सिलवाल संचालक नियुक्त हुँदा उनी बैंकको ऋणी रहेको स्वीकार गरेका छन् ।
बैंकको ऋणी संचालक हुन नपाइने प्रचलित व्यवस्था विपरित हरि कुमार सिलवाललाई सरकारले संचालकको नियुक्ति दिएको खुलासापछि ढकालले पनि यो तथ्य स्वीकारेका हुन् ।
यद्यपि ढकालको दाबी भने सपथ लिने बेलामा सिलवालले ऋण तिरिसकेको भन्ने छ । ‘हरि सिलवालजीले संचालकमा नियुक्ति लिँदा उहाँ बैंकको ऋणी रहनुभएको सत्य हो । तर उहाँले ऋण तिरेर मात्र सपथ लिनुभएको छ ।’, ढकालले अर्थ सरोकारसँग भने ।
उनको स्वीकारोक्तिसँगै सिलवालको पद थप धरापमा परेको छ । कानुनले नियुक्ति लिंदाका बखत नै ऋणी संचालक हुन नपाउने स्पष्ट व्याख्या गरेको छ । यो प्रकरण अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुगेको बैंकका उच्च अधिकारीहरु बताउँछन् ।