काठमाडौँ । सेयर गुरु सुबासचन्द्र भट्टराईले आइतबारको बजार बढोत्तरीले लगानीकर्ताको मनोबल झनै बढाएको बताएका छन् । बिहीबार नेगेटिभ सर्किट लागेर बजार बन्द हुँदा लगानीकर्ता केही आत्तिएको भए पनि आइतबार बजार ‘बाउन्स ब्याक’ हुँदा पुनः लगानीकर्ताको मनोबल फर्किएको भट्टराईले बताएका छन् ।
आइतबार बजारले बिहीबारको नेगेटिभ सर्किटजस्तो कहालीलाग्दो कालखण्डलाई चिरेर अघि बढेको भट्टराईको भनाई छ ।
उनले यो बजारको यात्रा अब माथि नै जानै कन्फर्म भएको पनि बताएका छन् । ‘बजारले सँधै सेञ्चुरी मात्र हान्दैन । बजार बढेको बढ्यै पनि हुँदैन तर विगतको कालखण्डलाई जितेर बजार माथि नै जान्छ ।’, उनले भने ।
त्यस्तै, उनले बिहीबारको बजारमा ठूला लगानीकर्ताले बजार घटाएर सेयर किन्न खोजेको भन्दै आइतबार पनि बजार घटाएर सेयर किन्न खोजेको दाबी गरे । तर, सरकार र नियामक निकायले नीतिहरुमा परिवर्तन गर्न खोज्दा त्यसले लगानीकर्ताको मनोबल बढाएको भट्टराईको भनाई छ । ‘अझै बजार घटाएर ठूला लगानीकर्ताले सेयर किन्न खोजेका थिए । आज पनि बजार घटाउन नै खोजिएको थियो ।’, उनले भने, ‘तर जसरी सरकारले र नियामक निकायले नीतिहरुमा परिवर्तन गरे, त्यसले लगानीकर्ताको मनोबल फेरि बढायो । त्यही कारण पनि बजारले क्विक रि-बाउन्स गरेको हो ।
अर्कोतर्फ जेनजी आन्दोलन साम्यवादको आन्दोलन नभएर भ्रष्टाचारविरुद्ध, सुशासन कायम गर्न र सुदृढीकरणको आन्दोलन भएकाले पनि यस्ता आन्दोलनले अन्ततः राम्रो नै हुने भट्टराईले बताएका छन् ।
उनले यसअघि कोभिडपछि पनि बजार बढेको, भूकम्प र नाकाबन्दीपछि पनि बजार बढेको स्मरण गराउँदै यसपालि पनि बजार बढ्ने दाबी गरेका छन् । तर, आइतबारको बजार बढोत्तरीलाई हेरेर मात्र बुल आइहाल्छ भन्न नसकिने भट्टराईले बताएका छन् । ‘अहिले नै बुल ल्याउँदैन तर लगानीकर्ताको मनोबल उच्च राखेको छ ।’, उनले भने, ‘अहिले बनेको सरकारले अर्थतन्त्रमा कायापलट गर्ने अवस्था बने छिट्टै बुल देख्न पाइन्छ ।’
त्यस्तै, जेनजी आन्दोलनको धेरै क्षति सरकारी भवनमा भएको र कम्पनीमा भएको क्षति कम भएको र त्यसको भरपाई पनि बीमा कम्पनीहरुले गर्ने भन्दै भट्टराईले हाल सरकारले नीतिगत फेरबदलमा देखाएको चासोले पनि लगानीकर्ताको मनोबल उच्च राखेको बताएका छन् । उनले गभर्नर, अर्थमन्त्री सेयर बजारप्रति सकारात्मक भएकाले पनि यो सरकारले बजारलाई चलायमान बनाउने नीति लिनेमा विश्वास गरेका छन् ।