काठमाडौँ । जेन-जी आन्दोलनमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)का १४ हजार ७ सय उत्तरपुस्तिका जलेको पाइएको छ । सिटिइभिटीका अनुसार डिप्लोमा, प्रि-डिप्लोमा र प्रमाणपत्र तहका परीक्षाको उत्तरपुस्तिका जलेका हुन् ।
सुरक्षाका लागि प्रहरीका कार्यालयमा राखिएका उत्तरपुस्तिका प्रहरी कार्यालयमै आगजनी हुँदा जलेको सिटिइभिटीले जनाएको छ ।
आन्दोलनका क्रममा कोशी प्रदेशका ५ वटा र बागमती प्रदेशका १८ वटा परीक्षा केन्द्रहरुको उत्तरपुस्तिका जलेको सिटिइभिटीका प्रवक्ता टैलेन्द्र आचार्यले बताए । उनका अनुसार कोशीका पाँच केन्द्रको उत्तर पुस्तिका नियमिततर्फ १ हजार ९ सय ३७ र आंशिकतर्फ १ हजार सय ५० वटा उत्तरपुस्तिका जलेका छन् ।
त्यस्तै, बागमती प्रदेशका १८ वटा केन्द्रका ११ हजार २ सय ३ वटा उत्तरपुस्तिका जलेका छन् । उत्तरपुस्तिका नै जलेर नष्ट भएपछि सिटिइभिटीले पुनः परीक्षा लिने तयारी गरेको छ । सिटिइभिटीले मंसिर ४ गतेदेखि पुनः परीक्षा गर्ने सूचना समेत जारी गरिसकेको छ । तर, विद्यार्थीहरुले भने पुनः परीक्षा लिने निर्णयबाट पछि हट्न दबाब दिइरहेका छन् ।
विद्यार्थीहरुले उत्तरपुस्तिका सुरक्षित गर्न नसक्नु आफूहरुको कमजोरी नभएको र फेरि पढेर परीक्षा दिने समय पनि नभएको भन्दै विद्यार्थीहरुले परीक्षा लिने निर्णयबाट पछि हट्न माग गरिरहेका छन् ।