काठमाडौँ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक रहेको बताएका छन् । नेपाल सेयरबजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सेयर बजारमा नियम धेरै भयो भने बजारमा उत्साह घट्ने र स्वतन्त्रता पनि बढी भयो भने बजारमा अराजकता आउने उनले बताएका हुन् । ‘नियम धेरै भयो भने बजारमा उत्साह घट्छ, तर स्वतन्त्रता बढि भयो भने बजारमा अराजकता आउँछ । त्यसैले हामीले स्मार्ट रेगुलेसन अर्थात बुद्धिमानीपूर्वक नियमन अपनाउनुपर्छ ।’ चापागाईंले भने ।
उनले लगानीकर्ताको हित र बजारको उर्जा पनि कायम राख्नेगरी नेप्सेले आफ्नो काम कारबाही अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै, चापागाईंले पुँजीबजार केबल सेयर किनबेच गर्ने थलो मात्र नभएको बताउँदै यो देशको आर्थिक समृद्धिको आधार भएको पनि बताए । ‘आजको संसारमा पुँजीबजार केबल सेयर किनबेच गर्ने थलो मात्र होइन । यो देशको आर्थिक समृद्धिको आधार हो ।’ उनले भने । राष्ट्रको विकास, श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएको उनको भनाइ छ ।
उनले बजारमा धेरै लगानीकर्ता आइरहेको बताउँदै सेयरबजारको बारेमा साक्षरताको कमी देखिएको समेत बताए । नेपाल सेयरबजार लगानीकर्ता संघले साक्षरताका लागि नेतृत्व लिन समेत उनले सुझाव दिए ।













