काठमाडौँ । सेयर बजार सुधारका विभिन्न माग राख्दै धितोपत्र बोर्ड पुगेका सेयर लगानीकर्ता र धितोपत्र बोर्ड अध्यक्षबीच चर्काचर्की भएको छ । वार्ताका लागि भन्दै बसेको बैठकमा बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र सेयर लगानीकर्ताबीच चर्काचर्की भएको हो ।
बजार सुधारका विभिन्न माग राख्ने क्रममा बोर्ड अध्यक्ष श्रेष्ठले ‘काम गरिरहेका त छौँ’ भनेपछि लगानीकर्ता र बोर्ड अध्यक्षबीच चर्काचर्की भएको थियो ।
सोही बेला सेयर लगानीकर्ताले ‘धितोपत्र बोर्ड पनि जिउँदै छ ?’ भन्दै प्रश्न गरेका थिए । उनीहरुले सेयर बजार निरन्तर घटिरहँदा र लगानीकर्ताको मनोबल झनझन् बिग्रँदै गइरहेका बेला पनि बोर्डले गर्नुपर्ने काम पनि नगरेको बताएका छन् ।
लगानीकर्ताहरुले हाल बजार झनै घट्दै गइरहेको बेला बजार सुधार र लगानीकर्ताको मनोबल बढाउन तत्काल कार्यान्वयन गर्न भन्दै ११ बुँदे माग पनि बुझाएका छन् । यस्ता छन् मागहरुः
१. आइपिओ र हकप्रद स्वीकृति दिने कार्य कार्ययोजना अनुसारको काम नभएसम्म र दोस्रो बजारमा माग सिर्जना नभएसम्मका लागि आजै रोक्ने ।
२. संस्थापक सेयर साधारणमा परिवर्तन आजै रोक्ने ।
३. एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउने कार्यविधि आजै लागू गर्ने ।
४. सूचीकृत लगानी कम्पनीहरुलाई दोस्रो बजारमा लगानी गर्न आजै स्वीकृति दिने ।
६. असोज मसान्तमा आउने मार्जिन कल र ब्याज भुक्तानीलाई ३० दिन पछि सार्ने ।
७. ब्रोकरबाट मार्जिन कारोबारका लागि आजै स्वीकृति दिने ।
८. बैंकबाट प्रवाह गरिने सेयर धितो कर्जाका लागि बैंकलाई प्राथमिक पूँजीको ४० प्रतिशत हैन, जम्मा कर्जा रकमको १० प्रतिशत सिमा कायम गर्ने ।
९. कुनै पनि कम्पनीको सेयर मूल्य ५ प्रतिशत मात्र घट्न पाउने र बढ्दा १० प्रतिशत सम्म बढ्न पाउने गरी सर्किट ब्रेकर परिवर्तन गर्ने ।
१०. लगानीकर्तालाई आश्वस्त पार्न सबै नियमनकारी निकायले तदारुकता देखाई पहल गर्ने ।
११. अनिवार्य रुपमा एओएन लागू गर्नुपर्ने ।