काठमाडौँ । संसद् विघटन भएको एक महिना हुन लाग्दा पनि पूर्व सांसदहरुले रातो पासपोर्ट (कूटनीतिक पासपोर्ट) फिर्ता नगरेको पाइएको छ । अन्तरिम सरकार गठनलगत्तै भदौ २७ गते संसद् विघटन गरिएको थियो ।
संसद विघटन भएको एक महिना पूरा हुन अब चार दिन मात्र बाँकी छ । तर, हालसम्म अधिकांश पूर्व सांसदहरुले रातो पासपोर्ट फिर्ता नगरेको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सांसद नरहेको वा पद गुमेको अवस्थामा एक महिनाभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ । तर, हालसम्म आधा दर्जनले मात्र संसद सचिवालयमा रातो पासपोर्ट फिर्ता गरेका छन् ।
अन्यले भने अझैसम्म पनि पासपोर्ट फिर्ता गरेका छैनन् । केही पूर्वसांसदले दशैँ लगायत चाडपर्वको बिदाका कारण पासपोर्ट फिर्ता गर्न नपाएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले त विज्ञप्ति नै जारी गरेर आफ्ना पूर्व सांसदहरुलाई रातो पासपोर्ट फिर्ता गर्न निर्देशन दिएको थियो ।