काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले एमाले नेता महेश बस्नेतलाई हावामा कुरा नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा महेश बस्नेतको भिडियो सेयर गर्दै पुनले उनलाई धेरै हावामा कुरा नगर्न आग्रह गरेका हुन् ।
पुनले सेयर गरेको भिडियोमा बस्नेतले मन्त्रीहरुले गार्ड, गाडी र क्वाटर चाहिँदैन भन्नुको अर्थ उनीहरुसँग मन्त्रीको जतिकै घर, गाडी र सुरक्षाकर्मी छ भन्ने पुष्टि हुने बताएका छन् ।
तर, बस्नेतको सोही भिडियो सेयर गर्दै शिक्षामन्त्री पुनले काउन्टर जवाफमा ‘मेरो घर र गार्ड कहाँ छ ? देखाउ’ भन्दै प्रश्न गरेका छन् । उनले बस्नेतलाई धेरै चुरीफुरी र घमण्ड नगर्न पनि भनेका छन् । त्यस्तै, तथ्य नबुझी धेरै हावामा कुरा नगर्न पनि पुनले बस्नेतलाई भनेका छन् ।
‘…म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त । तीन चारपटक त भेटेर कुरा पनि भएको थियो त यार । तिम्रो फोन नम्बर म सँगै छ त अहिलेसम्म । खाल्डोमा जाने काम पटक्कै नगर । तिमी अझै पनि धेरै वर्ष बाँच्ने उमेर छ ।’, पुनले लेखेका छन् ।