काठमाडौँ । कर्मचारीले अध्यक्षलाई कार्यालय प्रवेशमा रोक लगाएपछि धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक अर्थ मन्त्रालयमा बस्ने भएको छ । कर्मचारी आन्दोलनका कारण कार्यालय जाने अवस्था नभएपछि बोर्डको बैठक आज (मंगलबार) साँझ ४ बजे अर्थ मन्त्रालयमा बस्ने भएको हो ।
आन्दोलनका कारण कार्यालयमा जाने अवस्था नभएपछि अर्थ मन्त्रालयमै बैठक बोलाएको बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले जानकारी दिएका छन् ।
धितोपत्र बोर्डका कर्मचारीहरु ४३ दिन (असोज ७ गते) देखि आन्दोलनमा छन् । उनीहरुले बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा माग्दै गत आइतबारदेखि अध्यक्षलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । आफूहरुको मागप्रति अध्यक्षले कुनै भूमिका नखेलेको कर्मचारीहरुको आरोप छ ।
आफूहरुले खाईपाई आएको सेवा-सुविधा अर्थ मन्त्रालयले खारेज गरेको भन्दै बोर्डका कर्मचारी आन्दोलित बनेका छन् । उनीहरुले सचीवस्तरीय निर्णयबाट खाईपाई आएको सेवा सुविधा खारेज गर्ने निर्णय फिर्ता गर्नुपर्ने माग राख्दै आएका छन् । कर्मचारीकै आन्दोलनका कारण बोर्डको नियमित काम पनि प्रभावित भएका छन् ।





			
						







