काठमाडौँ । सात वर्षदेखि जेल जीवन बिताइरहेका पूर्व बैंकर कमल ज्ञवाली रिहा हुने भएका छन् । उनलाई रिहा गर्न अदालतले परमादेश जारी गरेसँगै उनी सात वर्षपछि छुट्ने भएका हुन् ।
सर्वोच्च अदालतका न्यायधीशहरु हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलाशले सोमबार ज्ञवालीलाई छोड्न परमादेश जारी गरेको हो ।
ज्ञवालीकी श्रीमती गौरी खनालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई छोड्न परमादेश जारी गरेको थियो । अदालतले परमादेश जारी गरेसँगै ज्ञवाली जेलमुक्त हुने भएका छन् ।
भएको के थियो ?
पूर्व बैंकरसमेत रहेका ज्ञवालीविरुद्ध ऋण दुरुपयोगको अभियोगमा मुद्दा दायर भएको थियो । सोही बेला तत्कालीन किष्ट बैंकका पूर्व प्रबन्ध सञ्चालकसमेत रहेका ज्ञवाली र उनकी श्रीमती गौरीलाई २०७३ असोजमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले तीन वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।
अदालतको फैसलापछि सोहीबेला पक्राउ परेकी गौरीलाई फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको थियो । तर, ज्ञवाली भने फरार भएका थिए ।
पछि उनलाई प्रहरीले २०७५ असोजमा भारतबाट पक्राउ गरेको थियो । अदालतको फैसलाको अवज्ञा गरेर फरार भएको भन्दै उनीमाथि सजाय थप गरिएको थियो । उनीमाथि जम्को प्रशासनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको आरोप थियो ।
अहिले सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै सजाय थप हुँदा सात वर्षदेखि जेल जीवन बिताइरहेका ज्ञवालीलाई रिहा हुने भएका छन् ।













