×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकका ग्राहक झुर सेवाले वाक्क ! कहिले हुन्छ समाधान ? बैंकसँग नै छैन जवाफ ! (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हिमालयन बैंकका ग्राहक झुर सेवाले वाक्क ! कहिले हुन्छ समाधान ? बैंकसँग नै छैन जवाफ ! (भिडियोसहित)

Artha Sarokar

२६ कार्तिक २०८२, बुधबार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

काठमाडौँ । अर्थ सरोकारको ह्वाट्सएप एक जना ग्राहकले फोन गरेर सोधे- ‘हिमालयन बैंक भाग्यो रे, बैंकका सिइओसंचालक बैंकको अर्बौं पैसा खाएर भागिसके रे । कुरा के हो ?’ केही समयपछि अर्का एक ग्राहकले फोन गरेर सोधे, ‘हिमालयन बैंकमा जनताले राखेको सबै पैसा डुबिसक्यो, तपाईंहरु के हेरेर बस्नुभएको छ ?’ लगातार अन्य फोनहरु पनि आउन थाले । कोही भन्दै थिए, ‘हिमालयन बैंकले बर्बाद बनायो । मैले विदेशमा कमाएको सबै पैसा खाइदियो ।’ कोही भन्दै थिए, ‘हिमालयन बैंकको लाइसेन्स राष्ट्र बैंकले खारेज गरिदियो रे । मैले जीवन भर कमाएको पैसा त्यहीँ छ, अव के हुन्छ बुझिदिनुपर्यो ।’

हिमालयन बैंकका सिइओ नै भागेको, संचालक समिति सम्पर्कविहीन भएको, बैंकका कर्मचारीहरुले शाखामा फोन उठाउन छोडेकोजस्ता गुनासा आएपछि हामीले भएको के रहेछ भनेर तुरुन्त हिमालयन बैंकका सूचना अधिकारीलाई फोन गर्यौं । तर उनको फोन उठेन । बल्ल बल्ल फोन उठ्यो, तर उनका कोही सहयोगीले उहाँ बाहिर हुनुहुन्छ, केही छ भने पछि कल गर्नु भने । त्यसपछि हामीले बैंकका व्यवस्थापनका केही अधिकारीहरुलाई फोन गर्यौं । कसैको उठेन । त्यसपछि संचालक समितिलाई फोन गर्यौं । बल्ल कुरोको चुरो पत्ता लाग्यो । बैंकको मोबाइल एप कार्तिक ३ गतेदेखि चलेको रहेनछ । कार्तिक ३ देखि १० गतेसम्म त सूचना निकालेरै एप चल्दैन भनिएको रहेछ । तर, त्यसपछि पनि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ केही चलेको रहेनछ । १० गते पछि पनि आफ्नो पैसा झिक्न त के, आफ्नो जम्मा भएको ब्यालेन्स पनि हेर्न नसकेपछि विदेशमा बस्ने नेपालीहरु माझ हल्ला चलेको रहेछ, हिमालयन बैंक भागिसक्यो, सिइओ र अध्यक्ष जनताको अर्बौं पैसा खाएर टाप कसिसके, अलिअलि भएको पैसा पनि ह्याकरले लगिसक्यो । अव हिमालयन बैंकमा कारोबार गर्नेहरुको कसैको पैसा पनि खातामा छैन ।

विदेशमा बस्ने कतिपयले नेपालमा रहेको बैंक शाखामा गएर पैसा झिक्न आफ्ना आफन्तलाई लगाए । तर कोर सिस्टम नै नचलेपछि धेरैले बैंकबाटसमेत पैसा झिक्न पाएनन् । तिहार गयो, छट गयो, बैंकले भनेको मिति गयो, समय गयो, तर हिमालयन बैंकको सिस्टम चलेन । त्यसपछि त झन् आत्तिए पैसा राख्नेहरु । कतिपय शाखामा बाझाबाझ भयो, तोडफोडको प्रयास पनि भयो । तर ऋण उठाउन गुण्डा प्रयोग गर्ने यो बैंकले ग्राहकलाई शाखाबाट तितरबितर बनाउन बरु प्रहरीको सहयोग माग्यो, तर उसको सिस्टम चलेन ।

विदेशमा चलेका हल्लाहरुमा कुनै पनि सत्यता थिएन । न हिमालयन बैंक भागेको थियो, न त्यहाँका संचालक भागेका थिए । भएको यति थियो, कि हिमालयन बैंकले कार्तिक ३ गतेदेखि १० गतेसम्म बैंकको एप चल्दैन भनेकोमा कार्तिक ११ गतेदेखि आजका मितिसम्म पनि एप, मोबाइल बैंकिङ र इनेटरनेट बैंकिङ चलेको थिएन ।

बैंकले स्तरोन्नतिका लागि भन्दै कार्तिक ३ देहि १० सम्म सिष्टममा समस्या आउने बताएको थियो । तर कार्तिक ११ गते चल्नुपर्ने बैंकको सिष्टम चलेन । ११ गयो, १२ गयो १३ गयो भन्दा भन्दै हप्ता दिन गयो, अरु समय गयो तर हिमालयन बैंकको सिष्टम चलेन ।

खातामा पैसा भए पनि हिमालयन बैंकका ग्राहकले न तिहारमा आफुसँग भएको पैसा प्रयोग गर्न पाए, न छटमा । अफिस खुल्यो, कर्पोरेट क्लाइण्टहरु उस्तै समस्यामा परे । हातहातबाट हुनुपर्ने कम, ल्याबटपबाट सजिलै हुनुपर्ने कामका लागि घन्टौं लाइन बसेर बैंकमा समय बिताउनुपर्ने भयो । कतै सड्न लागिसकेका चेकहरु प्रयोग गर्नुपर्ने भयो । त्यसपछि हिमालयन बैंकका ग्राहकले अव यो बैंकमा कारोबार नगर्ने भन्दै अर्को बैंकमा खाता खोले । कर्पोरेट अफिसहरुले पनि हिमालयन बैंकको खाता बन्द गरे । ठिकै चल्दै आएको हिमालयन बैंक एकाएक अव बैंक होइन, यो त सहकारी भन्दा पनि ठग रहेछ भन्ने स्थितिमा पुग्यो । हिमालयन बैंकको फेसबुक पेजमा ग्राहकहरुले हिमालयन बैंक ठग रहेछ, यो बैंकसँग कसैले कारोबार नगरौं भनिरहेका छन् ।

तपाई हरु ले गर्न खोजेको के हो ? कारोबार कसरी गर्ने एप चल्दैन । म बिदेश मा छु । जाबो एउटा एप अपडेट गर्नलाई कति समय लगाएको ? कि पढेलेखेका नै छैनन् हिमालयन बैंकमा ? ढुंगाना थर भएका एक प्रयोगकर्ताले हिमालयन बैंकलाई गाली गर्दै लेखेका छन् । अर्का ग्राहक राजन क्षेत्रीले हिमालयन बैंक त ठग रहेछ भनेका छन् । एक तामाङ्ग थरका ग्राहकले हिमालयन बैंकको कारणले घरमा झगडा परिसक्योसमेत लेखेका छन् । कति ग्राहकले रिसको सुरमा हिमालयन बैंकलाई छाडा गालीसमेत गरेका छन् । कमेन्ट हेरीसाध्य नभए पछि बैंकले सेवा छिटो सुधार गर्नुको सट्टा कमेन्ट बक्स नै अफ गरेको छ । धेरै ग्राहकले भनेका छन्, यो पटक पैसा मात्र निकाल्न पाइयोस, मेरा सात पुस्ताले यो बैंकमा कारोबार गर्ने छैनन् । हुन पनि हिमालयन बैंकले यतिसम्म घात गर्यो कि ग्राहकलाई यसपाली, त्यो भनिसाध्य छैन । खातामा भएको पैसा निकाल्न पाइएको छैन, इन्टरनेट बैंकिङको बिजोग छ, एप चल्दैन, बैंकमा सिष्टम चल्दैन । बरु कछुवा दौडेर एक किलोमिटर पार गरिसक्ला, हिमालयन बैंकको सिष्टम घुमेको घुम्यै छ ।

हिमालयन बैंकमा रहेको आफ्नो पैसा झिक्न नपाएपछि ग्राहकहरुले ठाउँ ठाउँमा गएर हिमालयन बैंकविरुद्ध नाराबाजी गरेका छन्। कतिपय शाखामा प्रहरी नै परिचालन गर्नुपरेको छ । हिमालयन बैंकविरुद्ध राष्ट्र बैंकमा पर्ने उजुरीको संख्या ह्वात्तै बढेको छ । जताततै हिमालयन बैंकको विरोध सुरु भएको छ । दुर्गा प्रसाईंले बैंक ढल्न सक्छन् भनेकै समयमा बैंक ढलेको हल्ला चलेको छ । बैंकका अध्यक्ष र सिइओ भागे भन्ने खबर धुवाँ फैलिएको छ । पैसा झिकौं एप चल्दैन, शाखामा ठुलो लाइन छ, लाइनमा बसेकाहरु भनिरहेका छन्, आज पालो नआउने भयो, बैंकले पैसा खाईदिने भो, कर्मचारीहरु त्राहिमाम छन्, ग्राहकलाई भन्ने शब्द छैन, सिष्टम चल्दैन ।

यतिसम्म कि मधेश प्रदेशमा कर्मचारीहरु हिमालयन बैंकको कार्ड लगाएर हिड्न छाडेका छन् । हिमालयन बैंकको सिष्टम नचलेपछि बैंकले पैसा खाएर भाग्न खोजेको हल्ला चलेका बेला, हिमालयन बैंकको कर्मचारी हो भन्ने थाहा पाउँदा जो कसैले आक्रमण गर्न सक्छ भन्ने पीर छ कर्मचारीलाई । मधेशमा मात्र होइन, अन्य थुप्रै ठाउँमा स्थिति यस्तै छ । दिनभर ग्राहकको गाली खानुबाहेक कर्मचारीसँग विकल्प छैन । यतिसम्म कि कतिपय बैंकका शाखाहरुले त धेरै गुनासो आयो बह्नेरा टेलिफोन को लाइन नै काटिदिएका छन् । लाइन काटिदिएपछि ग्राहकमा झन् शंका बढेको छ । केन्द्रले सिष्टम छिटो अपग्रेड नगर्दा कर्मचारीहरु त्राहिमाम छन् । हरे ! के दशा लागेका बेला कस्तो बैंकमा जागिर खाइएछ भनेर टाउकोमा हात लगाईरहेका छन् हिमालयन बैंकका कर्मचारी ।

यहाँ पूरापूर गल्ती हिमालयन बैंककै छ । ग्राहकले त कार्तिक ३ गतेदेखि १० गतेसम्म कुरेकै हुन् । अर्को एक हप्ता पनि कुरेकै हुन् । तर आफुले मेहेनत गरेको पैसा चाडबाडकै बेला झिक्न नमिलेपछि, पैसा ह्याकरले लगिदेला भन्ने पीरका बीच पैसा ह्याकरले लगिदेला भन्ने चिन्ताले सताएपछि, बैंकको शाखामै पुग्दा पनि पैसा झिक्न नमिलेपछि, दुश्मनले पनि नदिएको दुख आफुले पैसा राखेको बैंकले दिएपछि ग्राहकहरु अहिले पीरमा छन् । एक पटक पैसा झिक्न पाए कहिल्यै सो बैंकमा कारोबार नगर्ने कसम खाएकाहरुको संख्या हजारौं होइन, लाखौँमा छ । अझ बैंकका कर्मचारीहरु त चिन्तामा छन्, कतै यहि कारणले हेर्दा हेर्दै बैंक डुब्ने त होइन ? अहिले पो बैंकलाई पैसाको खाँचो छैन त ! विश्वास नै मरेपछि बैंकको आयु के लामो होला र ?

एक पटक सोच्नुहोस त, आजको दुनियाँमा हिमालयन बैंकमा मात्र कारोबार गरिरहेकाहरुको हालत के होला ? बैंकमा पैसा छ, झिक्न मिल्दैन । केहि कारोबार गर्न मिल्दैन । चेक बुक नै नलिएकाहरुको हालत झन् के होला ? दिनभर सबै काम छोडेर बैंकमा गएर लाइन बस्नु आजको दिनमा कति पीडादायी होला ? खोजीमा पैसा नै बोक्नु नपर्ने युगमा मोबाइल नै नचलेपछि हिमालयन बैंकका ग्राहकहरुको हालत के भएको होला ? बैंकले यो हदसम्म मनपरी गर्दा राष्ट्र बैंक के हेरेर बसेको होला ? अनि बैंकिङकै बेइज्जत गर्ने हिमालयन बैंकले कारोबार गरिरहने लाइसेन्स किन पाईरहेको होला ? प्रश्नहरु बग्रेल्ती छन् तर हिमालयन बैंकसँग यसको जवाफ छैन । उसले एक दुई दिन कुर्नु भनेको पनि १५ दिन भईसक्यो । चाडबाडमा समेत ग्राहकले आफ्नै पैसा चलाउन पाएनन् । धेरैका लागि हिमालयन बैंक भागेको सहकारीजस्तै भईसकेको छ । यसको जिम्मा कसले लिने हो ? कसैलाई थाहा छैन ।

ग्राहकले हिमालयन बैंकले मलाई ठग्यो, म विदेशमा छु, पैसा झिक्न– निकाल्न केही पाइन भनेर बोलौना गरिरहेका छन् । बैंक भागिसक्यो कि क्या हो भन्ने हल्ला चलेको छ । हिमालयन बैंक भनेर हिमालयन सहकारीमा पैसा राखियो कि क्या हो भनेर गुगल गर्नेहरुसमेत भेटिएका छन् । यस्तो बेला हिमालयन बैंक केही बोल्दैन । भन्छ त मात्र –सिष्टम अपग्रेड हुँदैछ । सिस्टम अपग्रेड गर्नु नराम्रो होइन । तर एक हप्ता भनेर जनतालाई झुक्याउने र पैसाजस्तो संवेदनशील कुरा जोडिएको बैंकलाई यसरी मनपरी ढंगले चलाइनु, ग्राहकमाथि हदैसम्म गैरजिम्मेवारीपना देखाउनु, गलत मात्र होइन, अक्षम्य अपराध हो भन्दा फरक पर्दैन ।

अव हिमालयन बैंकबाट सजिलै पैसा झिक्न कहिले मिल्छ ? यो प्रश्नको जवाफ बैंकसँग छैन । एक दुई दिन होला भन्न बाहेक उसँग उत्तर छैन । जिम्मेवार भएर कुरा गर्ने भन्दा पनि झारा टार्ने काम गर्दै छ बैंक । यतिसम्म मनपरी हुने हिमालयन बैंकमा, यतिसम्म ग्राहकको पैसासँगै भावनासँग खेल्ने बैंकमा अव किन खाता बन्द नगर्ने ? यो प्रश्नको कुनै जवाफ हिमालयन बैंकसँग छैन ।

स्थिति यस्तो भईसक्यो कि, हिमालयन बैंकले तपाईंको पैसा बैंकमा सुरक्षित छसमेत भन्न सकेको छैन । हो, प्रविधिमा कहिलेकाहीं समस्या आउँछ, यो ठुलो विषय नहुन सक्छ । तर ग्राहकलाई आज भोलि भन्दै झुक्याउने हिमालयन बैंकको नियतमै समस्या आएको हो कि भन्ने प्रश्न उठेको छ । न राम्रोसँग सूचना दिएको छ, न बैंकले बैंकको सिष्टम कहिलेसम्म बनिसक्छ भन्न सकेको छ । यति मात्र होइन, बैंकले त तपाईंको पैसा सुरक्षित छसमेत भन्न सकेको छैन । अनि यस्तो बैंकमा एउटा ग्राहकले देशमा अरु बैंक नै नभएजसरी किन कारोबार गर्छ र ?

हुन त हिमालयन बैंकमा हजारौं ग्राहकले कारोबार नगर्ने निर्णय गरिसकेका छन् । उनीहरुले अरु बैंकमा खाता खोलिसकेका छन् । हिमालयन बैंकको सिष्टम चल्ने बित्तिकै पैसा सारेर सो बैंकमा खाता बन्द गर्ने तयारीमा बसेकाहरुको संख्या ठुलो छ । हेर्दा हेर्दै एउटा चलिरहेको बैंकले जनताको विश्वासमाथि खेलबाड गर्दा बैंक डुब्न सक्ने स्थितिमा नपुग्ला भन्न सकिन्न । तर, यस्तो बेला पनि हिमालयन बैंक मौन छ, राष्ट्र बैंक मौन छ ।

सकेसम्म डिजिटल कारोबार नै गरेको राम्रो । त्यसैले डिजिटल कारोबार मुस्किलले हुने, हिमालयन बैंकजस्तो ढटूवा र ग्राहकप्रति गैरजिम्मेवार बैंकमाथि कारोबार नगरेकै राम्रो भन्नेहरु अहिले बढेका छन् । तपाईं पनि हिमालयन बैंकको ग्राहक हुनुहुन्छ भने एक पटक सोच्नुस्, किनकि बैंकमा भएको पैसालेमात्र तपाईंको जीवन चल्दैन । पैसा हुनु र नहुनुमा नै केही फरक नभेटिएपछि बैंक रहनु र नरहनुको के अर्थ भो र ! होइन र ? (भिडियो)

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी