काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का आधा भन्दा धेरै कर्मचारीलाई बिदा गर्ने तयारी गरेको छ । नेपाल एयरलाइन्समा हाल २ हजार कर्मचारी छन् । ती मध्ये सरकारले आधा कर्मचारीलाई अवकाश दिने तयारी गरेको हो ।
निगमका अनुसार हाल निगममा २ हजार ४ जना कर्मचारी कार्यरत छन् । तीमध्ये ९ सय २६ स्थायी कर्मचारी छन् ।
त्यस्तै, निगममा ५ सय ३९ जना अस्थायी कर्मचारी छन् भने करारका कर्मचारी ९ सय २६ जना र ज्यालादारीसहित अन्य कर्मचारी २ सय ६६ जना छन् । निरन्तर घाटामा गइरहेको नेपाल एयरलाइन्समा खर्च कटौतीलाई ध्यानमा राख्दै सरकारले अस्थायी, करार र ज्यालादारीमा रहेका कर्मचारीलाई अवकाश दिने तयारी गरिएको निगम स्रोतले बताएको छ ।
तर, एकैपटक ठूलो संख्यामा कर्मचारीलाई बिदा गर्दा परिस्थिति बिग्रिन सक्ने आंकलन गर्दै निगमले चरणबद्ध रुपमा ‘अवकाश स्किम’मार्फत कर्मचारीलाई बिदा गर्ने तयारी गरेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक पहुँचका आधारमा नियुक्त भएका कर्मचारीलाई हटाउन निर्देशन दिएसँगै सोही अनुसार निगमले काम अघि बढाएको छ । हाल नेपाल एयरलाइन्ससँग आन्तरिकतर्फ उड्ने एउटा र अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी गरी चारवटा मात्र जहाज छन् ।













